मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

गजलमा झुमे चितवनका युवा

गजलमा झुमे चितवनका युवा


चितवन । चितवनको भरतपुरस्थित सगुन पार्टी प्यालेस शनिबार गजलमय बन्यो । हरेकहप्ता साहित्यिक कार्यक्रमहरु हुँदै आएको चितवनमा केही फरक माहोलका साथ गजलको रौनकता छायो । विशेष आकर्षणका साथ सजाइएको स्टेजमा चार गजलकारहरु मुख्य आकर्षणका रुपमा रहे । 
 
गजल मञ्च चितवनले आयोजना गरेको कार्यक्रममा विशेषगरी देवघाटमा रहेर नेपाली गजल क्षेत्रमा कलम चलाउँदै आएका स्रष्टा कृष्णप्रसाद अर्याल, मनोज भण्डारी र लक्ष्मण संगमले आफ्ना प्रतिनिधि गजलहरु सुनाए । करिब १५० बढी साहित्यानुरागीहरुको उपस्थिति रहेको कार्यक्रममा गजलकारहरुले राम्रो साथ पाए । जसले गर्दा उनीहरुलाई थप हौसला मिलेको थियो । कार्यक्रम अवधिभर उनीहरुले वाहवाही पाइरहे । 
 
गजल मञ्च चितवनको पहिलो श्रृंखलाअन्तर्गतको कार्यक्रम ‘गजल संगममा’ गजलकारहरुले दुई चरणमा क्रमश जनही तीनवटा गजल सुनाए भने अन्तिम चरणमा सबैले एउटा गजल सुनाए । 
 
नेपाली गजलको उन्नयनमा विभिन्न खालका कार्यक्रमहरु आयोजना गर्दै आएको गजल मञ्च चितवनले यसपटक पाठकहरुलाई फरक स्वाद चखाउने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विमर्श कँडेलले बताए । 
 
‘देवघाट साहित्यका लागि उर्वर भूमिको रुपमा परिचित रहिआएको छ, यद्यपी देवघाटलाई नै केन्द्रमा राखेर निकै कममात्र कार्यक्रमहरु आयोजना हुने गरेका छन्’, उनले भने, ‘त्यसैले देवघाट केन्द्रित कार्यक्रमको अभाव खड्किन नदिनका लागि पनि गजलसंँगको पहिलो श्रृंखला नै देवघाट विशेषको रुपमा आयोजना गरेका हौँ ।’ उनले थपे, ‘देवघाटका श्रष्टाहरुलाई नेपाली साहित्यको केन्द्रसम्म जोड्नकालागि यस्ता कार्यक्रम फलदायी हुने हामीले विश्वास लिएका छौँ । ’
 
चितवनको गजलको छाता संस्था गजल मञ्च चितवनले श्रृंखलाबद्धरुपमै कार्यक्रमको सुरूवात गरी यस क्षेत्रको गजलको माहोललाई गतिदिने कोशिस गरिएको गजलमञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डितले बताए । कार्यक्रममा देखिएको दर्शकहरुको उपस्थिति र वाहावाहीले नेपाली साहित्यका अन्यविधाजस्तै गजलविधा मन पराउने पारखीहरु पनि उल्लेख्य मात्रामा रहेको पुष्टि भएको उनले दाबी गरे । 
 
कार्यक्रम स्थलमा निकै प्रफुल्ल मुद्रामा भेटिएका गजल मञ्च चितवनका संस्थापक अध्यक्ष किसान प्रेमीले मञ्चको नवगठित कार्यसमितिको सक्रियता देख्दा संस्था स्थापनाको उद्देश्य सार्थक भएको महसुस भएको बताए ।
 
मञ्चले पहिलोपटक कार्यक्रमस्थलबाटै सामाजिक सञ्जाल युट्युबमार्फत प्रत्यक्ष प्रसारण गरेकोले पनि कार्यक्रम स्थलमा उपस्थित हुन नसकेका साहित्यानुरागीहरुले पनि सञ्जालमार्फत प्रत्यक्षरुपमा अवलोकन गर्ने अवसर पाएको मञ्चका सचिवविनोद अनुजले बताए ।
 
‘गजलसँगको पहिलो श्रृखलामा नै प्रविधिको उपयोग सफल भएकोले आगामी कार्यक्रमहरु आजको कार्यक्रमभन्दा वृहत बनाउनुपर्छ भन्ने जिम्मेवारीबोध भएको महसुस गरेका छौँ’, उनले भने । गजलमञ्चले गजलसँगको दोस्रो श्रृंखला अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्ने  जनाएको छ ।