मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

हात्ती महोत्सवको लागि सिंगारिँदै पर्यटकीय नगरी सौराहा

हात्ती महोत्सवको लागि सिंगारिँदै पर्यटकीय नगरी सौराहा


चितवन । पर्यटकीय नगरी सौराहामा हरेक वर्षजस्तै यस वर्ष हुने चितवन हात्ती महोत्सव–२०७३ को तयारी तीव्र पारिएको छ ।
 
१३ औ संस्करणको महोत्सव आगामी पुस ११ गतेदेखि १५ गतेसम्म चल्ने शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । ‘विगतमा हामीले तीन खेल समावेश गर्दै आएकोमा पर्यटकहरुलाई थप आर्कषित गर्न चितवनबाट हराएको हात्ती पोलो थप गरेका छौं’, क्षेत्रीय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष एवम् महोत्सवका संयोजक दीपक भट्टराईले भने । वन्यजन्तुमैत्री बनाउन हात्ती दौडलाई हटाएर हात्ती फाष्टवाक प्रतियोगितासमेत गरिने उनले बताए ।
 
यतिबेला प्रतियोगिताका लागि आवश्यकपर्ने खेल मैदान व्यवस्थापनदेखि स्वागत गेट निर्माणलगायतका सम्पूर्ण तयारी तीव्र पारिएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । हात्ती महोत्सवका कारण चितवनको सौराहा नगरी दुलही झैं सिंगार्नेक्रममा सौराहाका मुख्य बजार, होटल, पार्क, रिर्सोटहरु सजाउने काम भइरहेको उनले बताए ।
 
हात्ती पोलो चितवनबाट नै सुरू भएकोले यस पटकको महोत्सवमा हात्ती पोलो विशेष आकर्षण बन्ने हात्ती पोलो खेल व्यवस्थापन समिति संयोजक शंकर सैजुले बताए । ‘पर्यटक आउदा चितवनमा हात्ती पोलो किन नहुने भनेर धेरै प्रश्न गरे’, उनले भने । हामीले पनि धेरै महसुस गरेपछि यहाँका सबै व्यवसायीहरुको पहलमा यो खेल हुन लागेको हो ।
 
यसैगरी दुई वर्षअघिदेखि थप गरिएको हात्ती वनभोज कार्यक्रममा १०० बढी हात्ती सहभागी हुने र उनीहरुलाई रुचि अनुसारको सक्खर, धान, केरा, काउली, बन्दा, उखु स्याउ, सुन्तलालगायतका अन्य परिकारहरु खुवाइने तयारी भएको हात्ती वनभोज कार्यक्रमका संयोजक योगेन्द्रनाथ अधिकारीले जानकारी गराए ।
 
महोत्सव क्षेत्रीय होटल संघ सौराहाको मुख्य आयोजना तथा चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन, रत्ननगर नगरपालिका, मृगकुञ्ज उपभोक्ता समिति, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा बचत र सौराहा पर्यटन व्यवसायी समूह तथा रेवान सौराहाको सहआयोजनामा कार्यक्रम हुन लागेको हो ।
 
महोत्सवले हात्ती र मानवबीचको सम्बन्ध प्रगाढ गराउन सहयोग गर्ने, पर्यटक प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने संघका अध्यक्ष सुमन घिमिरेको विश्वास छ । बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौंरमा हात्तीका गतिविधिसहित महोत्सवमा यसवर्ष हात्ती फाष्टवाक प्रतियोगिता, हात्ती पोलो प्रतियोगिता, हात्तीका छावाहरुबीच रोमाञ्चक फुटबल, हात्ती श्रृंगार प्रतियोगिता, टाँगा दौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता रहेका छन् ।
 
महोत्सवकै निकै आकर्षणको रुपमा रहेको हात्तीका छावाका बीचको रोमाञ्चकारी फुटबल प्रतियोगितामा ४ टिम र हात्ती सुन्दरी प्रतियोगिताका लागि ५ हात्ती सहभागी हुने नतिजा प्रकाशन एवम् हात्ती सुन्दरी प्रतियोगिताका ऋषि तिवारीले जानकारी दिए ।
 
महोत्सवमा ५० व्यावसायिक र संरक्षणमूलक स्टल राखिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि ७० लाख खर्च लाग्ने अनुमान आयोजकले लिएको क्षेत्रीय होटल संघका कोषाध्यक्ष एवम् आर्थिक समिति संयोजक शीरलाल परियारले जानकारी दिए । प्रतियोगिताको आन्तरिक र बाह्य गरी करिब दुई लाख बढी पर्यटकले अवलोकन गर्ने एवम् दुई करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।
 
यसवर्ष प्रतियोगिता अवधिमा बिदासमेत परेकोले गत वर्षभन्दा २० प्रतिशतले आन्तरिक पर्यटकहरुको वृद्धि हुने घिमिरेले बताए । यसवर्ष पर्यटन र संरक्षणमा योगदान दिएका पत्रकार तथा संरक्षणकर्मीहरुलाई सम्मानको कार्यक्रमसमेत राखिएको पत्रकार माझ जानकारी दिइएको थियो ।
 
यसपटक कलाकारहरुमा मनोज गजुरेल, मिलन लामा, बद्री पंगेनी, शान्ति परियारलगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक समितिका संयोजक दीपक अधिकारीले जानकारी दिए । १२ वर्षदेखि हात्तीका गतिविधि समेटेर कार्यक्रम हुँदै आएको छ ।