मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अमेरिकामा नेपाली क्रिकेट टोली भारतीयसँग मैत्रीपूर्ण खेल खेल्दै

अमेरिकामा नेपाली क्रिकेट टोली भारतीयसँग मैत्रीपूर्ण खेल खेल्दै


ड्यालस, टेक्सस – अमेरिका– नेपाललाई विश्व सामु चिनाउन पछिल्लो समयमा निकैनै ख्याति कमाएको नेपाली क्रिकेट टीमले शनिबार ड्यालसमा आफ्नो प्रतिभा देखाउने भएको छ। 
 
नेपाली समाज टेक्ससको आयोजनामा टेक्सस आएको नेपाली क्रिकेट खेलाडीहरुले शनिबार साँझ ७ बजे ड्यालसको क्यारलटनस्थित सेण्डीलेक मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेका नेपालको इज्जत राख्न सफल खेलाडीहरुको आत्मबल अझ बढाउन शनिबार डिनर कार्यक्रम समेत राखिएको छ।
 
‘नेपालबाट नेताहरु आउँदामात्र सम्मान गर्ने हाम्रो पुरानो चलनलाई अब विस्तारै हटाउँदै देशको नाम राख्न सफल खेलाडीलाई हामीले प्रोत्साहन गर्ने निर्णय गरेका हौं,’ अध्यक्ष लामिछानेले भने। अमेरिकी क्रिकेट टीमसँग खेल खेल्न नेपाली टोली अहिले अमेरिकामा छ।
 
टोलीमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का लगायत आठ जना रहेका छन्। उनीहरुको सम्मानमा शुक्रबार साँझ ७ बजे अर्बिङस्थित ‘रमाइलो रेस्टुराँ’ मा रात्रीभोज राखिएको छ। उक्त रात्रीभोजमा सहभागी हुन ३० डलर शुल्क तोकिएको छ। विद्यार्थीलाई छुट दिएर २० डलर शुल्क तय गरिएको छ। नेपाली क्रिकेटको जर्सी लगाएर आउनेलाई थप ५ डलर छुट दिने जनाइएको छ।
 
‘यो रकम नेपाली क्रिकेट खेलाडीका लागि प्रदान गरिनेछ,’ लामिछानेले भने। शनिबार हुने मैत्रीपूर्ण खेलमा नेपाली टोलीले स्थानीय भारतीयहरुको टीमसँग खेल्नेछ। 
 
उक्त दुबै कार्यक्रममा उपस्थित भएर नेपाली टोलीको हौसला बढाइदिन नेपाली समाजले स्थानीय नेपाली समुदायलाई अपिल गरेको छ। टेक्ससको ह्युस्टनमा अमेरिकी टोलीसँग हुने खेलमा सहभागी हुन नेपाली टोली अमेरिका आएको हो।