मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

मित्रता, साझेदारी र सफलता संगसंगै

मित्रता, साझेदारी र सफलता संगसंगै


(प्रवाशमा रहेर संघर्ष , लगन र परीश्रमबाट सफल हुने नेपालीहरु धेरै छन् । हिमालय खबर त्यस्ता लगनशील नेपाली व्यक्तित्व र संस्थाका आरोह अवरोहलाई पर्गेल्दै उनिहरुका सफलताका कथाहरु पाठकहरु माझ पस्किने अभियानमा लागेको छ ।  त्यही अभियानको एउटा पक्षपोषण  हो यो  प्रस्तुति – सम्पादक )  
 
"यस्तो पो मित्रता "- दुईजना पाका युवाहरुकालागि  गरिने यस्तो टिप्पणी ह्युस्टनको नेपाली समुदायमा निक्कै चर्चित छ । विगत २१ वर्षदेखि ह्युस्टनको वाफिलो र व्यस्त जीवनसंग लाप्पा खेल्दै सफलताको भर्याङ्ग उक्लदै गरेका यी दुई युवा, मित्रतामा पनि उदाहरण बनेका छन् । 
 
धेरै नेपालीहरु बीच मित्रता, साझेदारी  र सफलता समानान्तररुपमा सफल देखिदैन । समाजमा अलिकति हुने खाने देखिन थाले पछि धेरैको रवाफ आकाश चढ्न थाल्छ । एकले अर्कालाई नहेर्ने मँपाइ वादले घर गर्न थाल्छ । आफूले हिजो बनाएका साथीहरु पराई लाग्न थाल्छ । यो नेपाली समाज मात्रै हैन धेरैतिर देखिने अभिसाप हो । 
 
तर समाजमा अपवाद पनि हुन्छ । त्यस्तै अपवादका पात्र हुन् ज्ञानेश्वर श्रेष्ठ र चेज गुरुङ्ग । यी दुई साथी दुख , संघर्ष र सफलतामा दुई दशक भन्दा बढी संगसंगै हिंडेका छन् । सिध्दार्थ वनस्थली हाइस्कूलको चौथो कक्षादेखि ह्युस्टनको उदीयमान व्यवसायी हुँदासम्म उनीहरुको मित्रता उस्तै छ । न त त्यहाँ सम्पत्तिले भाँजो हाल्न सकेको छ न त सफलताको नसाले उत्पात गरेको छ । चौथो कक्षाका सिंगाने साथी , आज पनि यी दुई एक अर्काको सुख दुखमा सारथी बनेका छन् । 
 
यो पंक्तिकारको  वितेको १२ वर्षदेखि यी दुईसंग अविराम सम्बन्ध छ । कुनैबेला यिनीहरुमा यूवा जोश सय डिग्रीमा उम्लेको मैले देखेको छु । तर कुनैबेला त्यही जोडीमा पाको परिपक्वता पनि भेटेको छु । अब त झन् समयले उनीहरुलाई "म्याचुवर्ड " बनाएजस्तो लाग्छ । ज्ञानेश्वर र चेजमा आफ्नो समाज र त्यहाँभित्रका आवश्यकताहरुसंग एकाकार हुने रहर पलाएको छ । शायद त्यसैको परिणाम होला आज उनीहरु ह्युस्टनको नेपाली समुदायमा सामाजिक अभियन्ताकोरुपमा चिनिन्छन् । 
 
 ज्ञानेश्वर श्रेष्ठ 
नेपालमा कलेज शिक्षा पुरा गरेपछि उनलाई डाक्टरी पढ्ने रहर जाग्यो । चक्र बाँस्तोला त्यो बेला भारतमा राजदुत थिए । ज्ञानेश्वर दिल्ली पुगे । राजदुतलाई पनि भेटे । तर अल इन्डिया मेडिकल ईन्स्टिच्युट दिल्लीले दसलाख  भारु डोनेसन माग्यो । चुस्त मगज , त्यत्रो पैशा खर्च गर्यो भने त अमेरिकानै पुगिन्छ ! उनले तुरुन्तै नेपाल फर्किने निर्णय गरे । विध्यार्थी  भिसामा पढ्न अमेरिका जाने आफ्नो योजना सहित उनले भिसा आवेदन गरे । भाग्यले उनलाई साथ दियो । १९९५ मा ज्ञानेश्वर टेक्ससको ह्युस्टन आइपुगे । 
 
४१ बसन्त पार गरेका ज्ञानेश्वरको जन्म पशिमान्चलको गुल्मीमा भयो । व्यापारिक परिवारमा हुर्केको हुँदा उनमा पनि त्यो रगत काँचै थियो । आफ्नो बुबाको व्यापारिक बींडो थाम्ने एउटा जाँगर पालेकै हुनाले ह्युस्टनमा कलेज ग्राजुएसनपछि ज्ञानेश्वरको ध्यान व्यापार व्यवसाय तिर आकर्शित हुन पुग्यो । 
 
ह्युस्टनको एउटा चिनीयाँ रेस्टुराँमा काम गरेर कलेजको फीस तिर्न र बस्न खान खर्च मुश्किलले पुग्थ्यो उनलाई । रेस्टुराँमा एक साँझ तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज वुश (सिनियर) संग भएको भेटलाई ज्ञानेश्वरले स्मरणमा अझै राखेका छन् । पछि वेटरको काम छोडेर ग्यास स्टेसनको क्लर्क बन्न पुगे । 
 
उनको तेज मगजले त्यतिबेलै सोच्यो- अलिकति अनुभव भएपछि यस्तै व्यापारमा लाग्नु पर्छ । ज्ञानेश्वरले त्यसपछि पछाडि फर्कनु परेको छैन । 
आफ्नै व्यापार शुरु गरेपछि साथी चेज गुरुङ्गलाई संगसंगै डोर्याए उनले । आज ज्ञानेश्वर र चेजको साझेदारीमा मात्रै ११ वटा स्टोर र सपिङ्ग कम्प्लेस संचालित छन् । ग्रेटर ह्युस्टनमा जम्मा २२ स्टोरहरु छन् जस्मा ज्ञानेश्वरको साझेदारी छ । ७५ जनाले रोजगारी पाएका मध्ये अधिकांश नेपाली छन् । तीक्ष्ण व्यवसायीक प्रतिभा कै कारण आज उनिसंग कन्भिनियन स्टोरदेखि ग्यास स्टेसनसम्म , सपिङ्ग कम्प्लेसदेखि रियल स्टेटसम्म भ्याइनभ्याइ छ । 
 
ज्ञानेश्वर कमाउन मात्र हैन खर्च गर्न पनि उत्तिकै सिपालु छन् । सामाजिक कार्यमा मन खोलेर सहयोग गर्छन् । वर्षमा दुई तीनपटक मातॢभुमी नपुगी उनलाई चित्त बुझ्दैन । आफ्ना बुबा आमाको नाममा " मानबहादुर – मायादेवी " फाउण्डेसन  खोलेर समाज सेवामा सक्रिय  भैरहेका छन् । 
 
 दुई छोरी र श्रीमति शैलजासंग पारिवारिक जीवनको आनन्दित पाटो बिताइरहेका ज्ञानेश्वर, नेप्लिज एशोसिएशन अफ ह्युस्टनको सल्लाहकार हुन्  । उनका दुई भाईहरु र अरु आफन्तलाई बलिया सहयोगी बनाएर ह्युस्टनमै राखेका छन् । स्थानीय समुदायका प्रत्येक कार्यक्रम र योजनाहरुमा उनी सधैं सहयोगी देखिन्छन् । 
 
 चेज गुरुङ्ग 
तनहुँमा जन्मेका चेजको पारिवारिक वातावरण फौजी थियो । आफू बेलायती सेनाको राम्रो जागिरे हुनाले बुबाको  इच्छा पनि  छोरो त्यतै लागोस् भन्ने हुनु  स्वभाविक थियो । तर आफ्नो अन्तरङ्ग साथी ज्ञानेश्वर अमेरिका छिरेपछि उनलाई यतै आउने हुटहुटी जाग्यो । ज्ञानेश्वर हिंडेको एक वर्षपछि चेज पनि अमेरिका आइपुगे । तर उनले पढ्ने दुख गरेनन् । भारतीय रेस्टुराँमा काम थाले । पछि चेजको पनि काम ग्यास स्टेसन तिरै हानियो । त्यो बेला उनी अरुको स्टोरमा रजिस्टर हान्थे आजभोली आफ्नै स्वामित्वको रजिस्टरबाट डलर निकाल्छन् । ४२ वर्षीय चेज आफ्नो साथी ज्ञानेश्वर भन्दा स्वभावमा अलिकति फरक देखिन्छन् । शान्त र झन्डै लजालु स्वभाव छ उनको । शायद त्यसैले यी दुई मित्रहरु अहिलेसम्म आत्मीय बनेर व्यापार व्यवसाय हाँकिरहेका छन् । 
 
हाल नेप्लिज एशोसिएशन अफ ह्युस्टनको कार्यसमितिमा सहायक कोषाध्यक्ष रहेका चेज फूटबलका (सकर) -का सौखिन खेलाडी हुन् । चेजमा आफू मात्र बनेर हुन्न समाज पनि बन्नु पर्छ भन्ने धारणा प्रवल छ । त्यसैले प्रवाशमा होस् वा नेपालमा , सामाजिक सहयोगको सत्कार्यमा पछाडि पर्न चाँहदैनन्  । 
 
उनी ग्रेटर ह्युस्टनको पियरल्याण्डमा आफ्नी श्रीमति दिलु र एउटा छोरोसंग बस्छन् भने उनका अरु नातेदार पनि सहयात्री बनेका छन् । 
 
 सफलताको रहस्य 
ज्ञानेश्वर चेजको स्टोर – सफलताको एउटा नमूना ! 
 
मैले उनीहरु दुबैलाई सोधेँ – के हो त सफलताको रहस्य ? 
 
" निर्दिष्ट योजना अनुसार चल्नु पर्छ । अरुको सम्पत्ति र परिवारमा कर्के आँखा लाउनु हुन्न । अनुशासन र इमान्दारी छोड्नु हुन्न  " – ज्ञानेश्वरले तुरुन्त उत्तर दिए । 
 
मैले चेजलाई संकेत गरेँ उस्को उत्तर लिन । 
" ज्ञानेश्वरले प्लानिङ गर्छ , उसको कुरा सुनेपछि मलाई चित्त बुझ्छ प्राय । मलाई थाहा छ , उस्ले जे गर्छ हामीलाई खराब हुने काम गर्दैन । उस्को योजनामा म पछि पछि लाग्छु ।  "- चेजको उत्तर आँफैमा गजबको लाग्यो । 
 
उदाहरणीय मित्रता 
मलाई जिज्ञासा भैराख्ने अर्को कुरा यी दुईको मित्रता । कसरी अनवरत चलेको छ यो मित्रता ? प्रश्न आँफै उब्जन्छ । 
मैले प्रश्न तेर्स्याएँ – कुनैबेला तिमीहरुको मुख रातो हुदैन ? एक अर्कासंग मन अमिलो हुँदैन ? 
 
दुबैको उत्तर एउटै थियो – एकअर्कामा विश्वास , पारदर्शीता र इमान्दारी हाम्रो मित्रताको बलियो जग हो । पैसाको मुख रातो हुन्छ भन्छन् । हो यो मामिलामा हामी खुलस्त छौं , पारदर्शी छौं । त्यसैले मुख रातो हुने , मन अमिलो हुने कुरै हुँदैन । 
 
 मैले उनीहरुको सटीक उत्तर सुनिरहेँ , केही बोलिन । मनमनै शुभकामना दिंदै प्रार्थना गरेँ – समाजमा यस्तै मित्रता र सफलता बाँचिरहोस् । 
 
-ह्युस्टन,टेक्सस ।