मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

महिला भलिबलको उपाधि न्यू डायमण्डलाई

महिला भलिबलको उपाधि न्यू डायमण्डलाई


काठमाडौँ । महिला राष्ट्रिय भलिबलको उपाधि न्यू डायमन्ड एकेडेमीले जितेको छ । 
 
कास्कीको लामाचौरमा सम्पन्न फाइनलमा न्यू डायमन्डले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो । डायमन्डका लागि प्रतिभा मालीले २५ र कप्तान ललिता नाथले आठ अङ्क जोडेका थिए । 
 
मुख्य स्पाइकर सरस्वती चौधरीबिना मैदानमा उत्रेको एपिएफका  लागि रेश्मा भण्डारी र नेविका चौधरीले समान १२ अङ्क र उषा विष्टले पाँच अङ्क जोडेपनि उपाधि जित्न भने सकेनन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी प्रतिभा माली(डायमन्ड), उत्कृष्ट क्विकर ललिता नाथ (डायमन्ड), उत्कृष्ट सेटर कृपा अधिकारी (डायमन्ड), उत्कृष्ट डिफेन्स सलिना श्रेष्ठ(डायमन्ड), उत्कृष्ट स्पाइकर रेश्मा भण्डारी (एपिएफ) र उत्कष्ट ब्लकर मनिषा खाँड (त्रिभुवन आर्मी क्लब) चुनिए । 
 
न्यू डायमन्डका कुमार राईले प्रतियोगिताकै उत्कृष्ट प्रशिक्षकको उपाधि जित्नुभयो । पश्चिमाञ्चलका अरुणा शाही उत्कृष्ट सर्भरबाट सम्मानित भइन् । पश्चिमाञ्चल टिम  त्रिभुवन आर्मी क्लबलाई २५–१६, २५–१२ र २५–१५ को सोझो सेटमा पराजित गर्दै तेस्रो भयो । 
 
प्रतियोगिताको विजेता न्यू डायमन्डले रु ७५ हजार, उपविजेता एपिएफले रु ५० हजार र तेस्रो स्थान प्राप्त गरेको पश्चिमाञ्चलले रु २० हजार पुरस्कार प्राप्त गरे । विजेतालाई नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द, सङ्घका कोषाध्यक्ष सुनकेशरी माली, भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममानसिंह भण्डारीलगायतले पुरस्कृत गरेका थिए । 
 
नवआदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको सो भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब तथा न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल टिमको सहभागिता रहेको थियो ।