मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

घाँडो

घाँडो


विवाह भएको ९ वर्षभित्रमा भटाभट ४ वटी छोरी र अन्तमा पिण्ड दिने पात्र जन्माइन् उर्मिलाले । घरभित्रको सम्पूर्ण दायित्व उर्मिलाकै काँधमा, फुर्सदको कोटा माइतमै सकिएझैँ । बिहान ४ बजेदेखि राति १० बजेसम्म कोलको गोरूझैँ ऐश्वर्य बहुमुखी क्याम्पस नीलमनगरमा पढाउँछन् पतिदेव डा कामेश्वर शर्मा, अंग्रेजी विषयका गुरू । स्नातकोत्तर तहको पढाइ पनि सुरू भएकाले शर्माजी बिहानदेखि साँझसम्म व्यस्त । प्राइवेट कलेजहरुमा पनि सेवा गर्दछन् । मेवा राम्रै प्राप्त गर्दछन् ।
 
यतिखेर घरमा उर्मिला एक्लै छिन्, काम गर्दै । कपडा धोएर भ्याइन्, भाँडा माझ्न बाँकी छ । कोठा सफा गर्नुछ । नीलमनगरमा शर्माजीले राम्रै नाम र दाम कमाएका छन् । चार छोरी सरकारी स्कुलमा र छोरो बोर्डिङमा । अस्ति भर्खर लैंगिक समानतामा कार्यपत्र प्रस्तुत गरे शर्माजीले । टाढा–टाढा सहरमा पनि कार्यपत्र प्रस्तुत गर्न निम्ता पाउँछन्, राष्ट्रिय पहिचान जो बनेको छ ।
 
‘सर घरमा हुनुहुन्छ ?’
 
ढोकामा आएर कसैले आवाज दियो । स्वर नारीको । ‘ए, यो नक्कली आज पनि आई’, उर्मिलाले चिनिन् । ती छात्रा उनको घरमा पटकपटक आएकी छिन् । शर्माजी उनको थेसिस गाइड हो । हरेक साल शर्माजी नसर्माइकन छात्राकै ‘गाइड’ बन्छन् । छात्रले अनुरोध गरे ‘साइड’ लाग्छन् । कलेजमा ‘कन्या–राशी’ उपनाम पाएका छन् ।
 
साथीहरु भन्ने गर्छन्, ‘हाम्रो शर्माजीकै नाम पुरेतले जुराएकै कामेश्वर । वामदेव र रामदेवको पछि लागे पनि मान्छेचाहीँ कामदेव नै हुन् । सुनिन्छ, अचेल हाम्री सबैभन्दा राम्री नानी पुनम परियारको गाइड बनेका छन् । पुनम पनि गुरूको पछि लाग्न पाए सबै कुरा बिर्सिन्छिन् अरे’– प्राध्यापक उपेन्द्र रायमाझी ।
 
अर्का प्राध्यापक रवीन्द्र सापकोटाले थपे– ‘पुनम पनि विवाहिता मात्र होइन, एउटी छोरीको आमा पनि हुन् रे । उनको पतिदेव बर्माबाट आएका हुन् रे । उनी पनि राम्रै शिक्षित, एउटा प्राइवेट कलेजमा लगानी गरेरै पढाउँछन् रे । गणितमा राम्रो दख्खल छ रे । बर्मामा परिवार भए पनि देहरादूनमा पढेका रहेछन् । बाउको जागिर भारतीय सेनामा, पोस्टिङ देहरादून । पुख्र्यौली बर्मा । उनको नाम विमल शर्मा । पुनमसित लभ म्यारिज भएको हो रे ?’
 
‘ए‘ए‘ आउनुहोस् नानी, आउनुहोस् । सर अब आधा घन्टामा आउनुहुन्छ ।’
 
मुहारमा कृत्रिम मुस्कान पोतेर उर्मिलाले शिष्टाचार प्रकट गरिन् । पोतोले बिरुप बनाएको अनुहारभित्रको दुःखी अनुहार पढ्न सक्षम थिइन् पुनम ।
 
‘म आएपछि किन यी बुढिया मुख बिगार्छिन् ? 
 
किन यिनको बोलीमा उदासीनता अनूभूत गर्दछु म ? कि एउटी नारीका लागि अर्को नारी जहिले पनि जोखिमको घर हुन्छे ? के म यिनको भाग खोस्न आएको हो र यहाँ ?’
 
उता, उर्मिलाको मनमा पनि खिचडी पाकिरहेछ । ४० वसन्त पार नगर्दै ७० को हुलिया देखिन्छ । ऐनाअगाडि उभिँदा तर्सिन्छिन् । गाउँकी रोज्जा फूल थिइन् । कामेश्वरले आफैँ मागेर विवाह गरेका हो । सुरूमा सारै माया गथ्र्यो । हरेक फर्माइस पूरा गथ्र्यो । तर अचेल रु बेग्लै कोठामा रात बिताउँछन् शर्माजी ।
 
शर्माजी भन्छन्, ‘उर्मिला, बच्चाहरुले मलाई पढ्न दिँदैनन् । हेर, मेरो कति काम छ । साहित्य पढाउन सजिलो छैन । फेरि किताबहरु प्रकाशन नगरे पदोन्नति हुन्न । ‘प्राडा कामेश्वर शर्मा बन्ने धोको पूरा गर्न मैले तपस्या गर्नुपर्दछ । त्यसैले, अन्यथा नसोच । पाँच सन्तानकी आमा भयौ, अब तिमीलाई बढी दुःख दिन पनि चाहन्नँ । बच्चातिर ध्यान दिनू है ।’
 
उर्मिला बोल्न सकिनन् । पुरूषप्रधान समाजमा उनी अबला । दुई–तीन महिनामा शर्माजी भन्थे, ‘उर्मिला, म ढोका खुला नै राख्छु, बच्चाहरु सुतेपछि आउनू है ।’ उर्मिला यान्त्रिक बन्दिन । उनको चाहनाको कुनै अर्थ थिएन ।
 
‘पुनमजी, चिया पकाऊँ ?’ मौनता चिर्दै, उर्मिला ।
 
‘होइन म्याडम, म नास्ता गरेरै आएकी हुँ । आज अलि हतार छ । सरले ठीक तीन बजे बोलाउनुभएको थियो । आधा घन्टाको काम छ । हजुर आफ्नो कामतिर लाग्नुभए हुन्छ । म यो मधुपर्क पढेर बस्छु नि । अब त बैनी र भाइहरु पनि आउने बेला भो, खाजा पनि खोज्लान् ।’ पुनमले सजिलो बनाइन् ।
 
त्यतिखेरै आँगनमा बाइकको आवाज आयो । शर्माजी गृहप्रवेश । ‘ओहो पुनम, यू आर अलरेडी हेयर रु’ यसो भन्दै ढाडमा ढ्याप्प, बिस्तारै हिर्कायो ।
 
उर्मिलाको मन चिसो भयो । छात्रालाई देखेपछि स्पर्श नगरी बस्न नसक्ने शर्माजी । मेरै आँखाअगाडि त यसो गर्ने यो लोग्नेमान्छेले म नभएको बेलामा यो नक्कली आई भने कतिसम्म गर्ने होला रु उर्मिलाको मनमा दनदनी आगो बल्यो । कोपरौँ कोपरौँ भयो । गुरू र चेलीको रासलीलाका बारेमा उनले पनि सुनेकी थिइन् । जसको घरमा डेरा गरेर बस्यो, त्यही घरको चेलीलाई उडाउने गुरूहरुको कथा सुनेको मात्र होइन, केही वर्षअघि छिमेकमै त्यो कर्मकाण्ड पूरा भएको थियो ।
 
‘उर्मिला, तँ त सारै बूढी भइछेस् । तेरो श्रीमान् अझै चलचित्रको नायकजस्तो देखिन्छ । कलेज नामको बगैँचामा सुन्दर फूलहरुको अनिकाल हुन्न । भमरा बन्न बेर छैन है, तेरा पाँच सन्तानका पिता रु हेर, हरेक लोग्नेमान्छे आफ्नी पत्नीलाई सीता बनाएर आपूm श्रीकृष्ण बन्न चाहन्छन् । फेरि यी साहित्य पढ्ने, पढाउने र लेख्ने पात्रहरुको मूल्य र मान्यता अचम्मको हुन्छ । प्रणय–रसमा डुब्छन् यी । तँ सोझी छेस् । तँलाई खोपीको देवता बनाएर शर्माजीले बाहिर–बाहिर लीला गर्लान् है १ अलिअलि गाइँगुइँ त मैले पनि सुनेकी छु ।’ बालसखी सर्मिलाले केही महिनाअघि बजारमा भेट हुँदा भनेको कुरा असत्यजस्तो लागेन उसलाई ।
 
‘ह्या, जेसुकै गरुन्, खाने मुखलाई जुँगाले छेक्दैन’ यस्तो सोचेर उनी बच्चाहरुका लागि खाजा बनाउन भान्सातिर लागिन् । पुनम र शर्माजी अध्ययन कक्षमा, शर्माजीकै शयनकक्ष ।
 
माघ महिना । आज सरस्वतीपूजाको दिन । उर्मिला अघिल्लै दिन पाँच सन्तानसहित माइत । उनको काकाकी छोरीको विवाह, आजै । हिजो एक्लै गएर हाजिरी जनाएर आए शर्माजी । शर्माजीको शयनकक्षमा यतिखेर गुरू र चेली मात्र । बिहानै आएकी हुन् पुनम । पतिलाई अन्तै जाने भनेर हिँडिन् । पति पनि आफ्नै सुरमा । छोरी सरस्वतीपूजाको कार्यक्रममा स्कुलमा । विमल शर्मा यूट्युवमा हिन्दी सिनेमा हेर्न पाए भात खान पनि बिर्सने ।
 
‘पुनम’– शर्माजी बडो प्रेमिल स्वरमा प्रकट भए ।
 
‘हजुर’, पुनम पनि त्यस्तै ।
 
‘पुनम, तिम्रो मनमा केही छ ?’
 
‘त्यस्तो केही पनि छैन सर’, सामान्य बन्न खोज्छिन् पुनम ।
 
‘तर, तिम्रा आँखाहरुले त धेरै कुराहरु भनिरहेछन् ।’
 
‘के भनिरहेछन् सर ?’
 
‘साहित्यको विद्यार्थी भएर पनि पुरूष मनोविज्ञान नबुझ्ने त ?’
 
‘साहित्यको गुरू भएर पनि नारी मनोविज्ञान नबुझ्ने त ?’
 
‘पुनम, आई लव यू, आई रियल्ली लव यू’, त्यसपछि थामिएनन् शर्माजी ।
पुनमलाई पनि आज वातावरण अनुकूल छ भन्ने कुरा थाहा थियो । पुनमले कुनै प्रतिकार गरिनन् । लिस्नु पाएको बाँदरले यौवनको चोटामा चढ्न, गन्तव्यसम्म पुग्न ढिला गरेन ।
 
चिसो पस्छ कोठामा भन्ने बहाना बनाएर झ्यालढोकाहरुलाई पहिले नै सुव्यवस्थित गरिएको थियो । कोठाका निर्जीव सामानहरु फगत् साक्षी किनाराको सदर । विनाकुनै रूकावट र विनाकुनै व्यवधान, त्यो विशिष्ट महाअनुष्ठान सम्पन्न भयो । पुनमको अनुहारमा तृप्तिको आभा प्रस्ट देखिन्थ्यो । शर्माजी पनि ८८४८ मिटरको उचाइमा पुगेर झन्डा गाडेको तेन्जिङ नोर्गे शेर्पाझैँ ।
 
यसपछि यो सिलसिला जारी रह्यो । गुरूको कृपाले पुनम परियारले स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरिन् । थेसिसमा ९९ अंक । केन्द्रबाट आएका बाह्य परीक्षक शर्माजीकै दमाली । अघिल्लो दिन टन्न खानपिन । चन्द्रमा दाहिने, पुनमका लागि । भनिन्छ, प्रेम र मदिराको सुगन्ध जति छुपाए पनि प्रकट भएरै छोड्छ । आगो लागेको ठाउँ गोप्य रहला, तर धूवाँ ? त्यसमाथि नेपाली समाज । पुनम र शर्माजीको प्रणय–कथा सहरले मात्र होइनस वनपाखा, हिमाल, पहाड, तराई, बाहुन, क्षेत्री, राई सबैले थाहा पाउँछन् । उर्मिलाको छटपटी बढ्दछ । यता विमल पनि अधीर । बोलौँ प्रमाण छैन, नबोलौँ शंका नामको सर्पले डसेर अवसादको रोगी बनाउलाजस्तो भयो । न उर्मिलाले केही भन्न सकिन्, न विमलले । विमल र पुनमको बीचमा खटपट सुरू भयो । उर्मिला अझै शान्त, बहिरबाट । बच्चाहरुलाई केही मेसो छैन ।
 
‘पुनम, मलाई यहाँ बस्न मन लागेन । लोखु, बर्मामा हाम्रो अथाह सम्पत्ति छ । हिँड उतै जाऊँ । बाआमाले पनि आउन कर गर्नुभएको छ’, विमलले यस्तो प्रस्ताव राख्यो ।
 
अकल्पनीय थियो पुनमका लागि यो कुरा, ‘मैले विवाह गर्नुअघि नै नेपाल नछोड्ने सर्त राखेकी थिएँ । तपाईंले मान्नुभएको थियो । म आफ्नो सम्पूर्ण क्यारियर, भविष्य र नातापाता छोडेर त्यो बिरानो मुलुकमा जान सक्दिनँ श्रीमान् । हजुर आफूमात्रै जाने भए म रोक्दिनँ ।’
 
‘साली, बेइमान, वेबफा, बदचलन, किन जान्थिस् तेरो नाठोलाई छाडेर रु मलाई केही पनि थाहा छैन भन्ने ठानेकी होलिस् । सोझो देखेर हेपिस् । तेरो उच्च मह¤वाकांक्षाले तलाईं यति तलसम्म गिरायो‘।।’ यसो भन्न खोजेको थियो विमलले, तर बोलेन ।
 
उसले यहाँ कोही पनि आफ्नो बनाउन सकेको थिएन । पुनमका दाजुहरु राजनीतिक पार्टीका नेता थिए । ससुरालीमा पनि विमलको त्यति सम्मान थिएन । किंकर्तव्यविमूढ भयो विमल । वार्ता अघि बढेन । उर्मिलाभित्रको छटपटी पनि चुलिँदै गयो । विमल र उर्मिलाको मनोविज्ञानलाई उपेक्षा गर्दै कामेश्वर र पुनमले प्रेमपुराणको अध्याय थप्दै गए । ‘कामातुरम् भयम् न लज्जा’ शास्त्र सधैँ झूटो हुने कुरा भएन ।
 
नीलमनगरबाट दुई प्राणी गायब भए । केही दिन सामसुम । कसैले वास्ता पनि गरेन । सबैको आफ्नै संसार । आमा घरबाट गायब हुँदा शर्माजीका पाँच सन्तान अत्तालिए । शर्माजीले थामथुम बनाए । केही छिमेकीहरु तीर्थयात्रामा निस्किएका थिए, उर्मिला पनि सँगै गइन् कि भन्ने अनुमान ग¥यो कामेश्वरले । उता, पुनमकी श्रीमान् पनि गायब । एक महिनापछि कामेश्वरको नाममा एउटा पत्र आयो । पत्र आउँदा पुनम
पनि कामेश्वरकै घरमा थिइन् । अचेल झन् दिनभरि बासै शर्मा निवास । छोरीलाई मावल पठाएकी थिइन् । बडो भयभीत भएर खाम च्यात्यो शर्माले । पत्रमा लेखिएको थियो :
 
प्रोफेसर साहेब,
के भनेर पत्र लेखौँ र ? हामी दुईमा को ‘जार’ को ‘साधु रु’ तिमीहरु दुई जनाको प्रेमलीलामा हामी दुई जना ‘घाँडो’ बन्न चाहेनौँ । हामीले अन्य उपाय अपनाउनुको कुनै तुक देखेनौँ । पुनमको शरीर मात्र मसित छ भन्ने कुरा मैले चाल पाएपछि मलाई धेरै पीडा भएको थियो । फेरि आफूले सारै माया गरेको पात्रको चाहनालाई, नाजायज भए पनि, फिल्मी शैलीमा सजाय दिने, बाटोमा तगारो बन्ने कुरा आएन । एक दिन बजारमा म्याडमसित भेट भयो । चिनाजानी गरियो । उहाँको पीडा र मेरो पीडाको कारण तिमीहरु दुई जना । म्याडमले त आत्महत्या गर्ने सोच बनाउनुभएको रहेछ । मैले रोकेँ । धेरै विमर्श भयो । तिमीहरुले एकअर्कालाई प्रेम गर्न हुन्छ भने हामीले किन हुँदैन ? यही निर्णय गरियो । हामी पनि केही दिन अनेक बहाना बनाएर घुम्न गयौँ । लजमा बस्यौँ । मैले मेरो लगानी फिर्ता लिएँ । अब नेपालसित मेरो कुनै नाता छैन । छोरीलाई पनि बिर्सने कोसिस गर्नेछु । बाउ भनेर आई भने यतै पढाउने छु । होइन भने, समयले यो घाउमा पनि मलहम लगाउला । तिमीहरु पनि खुसी रहनू । हामी पनि खुसी छौँ । म्याडमलाई अब कुनै तनाव छैन । प्रोफेसर, तिम्रो बेइमानीको सजाय यी सोझी देवीले भोगिरहिछन् । आमा भएर सन्तान त्यागेर हिँड्दा कति पीडा हुन्छ, त्यो आमालाई मात्र थाहा छ । हे मनमौजी प्रोफेसर, तिमीले मेरी पुनमलाई मात्र होइन दस वर्षभित्रमा १५ वटीलाई रखौटी बनाएछौ । म्याडमलाई थाहा रहेछ । भन्न नसकेको मात्रै । विरोध गर्ने आँट आएन छ । केही भन्न खोज्दा तिम्रो झम्टिने र पिट्ने बानी रहेछ । वास्तवमा तिमीजस्तै प्रोफेसरको कारणले पवित्र पेसाको मर्यादा क्षीण भएको हो । दोष तिम्रो मात्र छैन । आफ्नो यौवन र बैँसको अग्निलाई नियन्त्रण गर्न नसक्ने ‘प्यासी नदीहरु’ पनि दोषी छन् । आफ्नो भान्सामा रमाउन नजान्दा यो पारिवारिक विघटन भयो । मोज भएको छ होइन, प्रोफेसर रु ‘घाँडो’ टाढा भएपछि पूर्ण स्वतन्त्र । बधाई छ‘।।
 
योभन्दा अघि उसले पढ्न सकेन र चिच्यायो– ‘उर्मिला…!!!’‘
 
पल्लो कोठामा सुतेकी उर्मिला उठेर आइन् र ढोका ढकढक्याइन् । कामेश्वरले ढोका खोल्यो । पसिना–पसिना भएको रहेछ । ‘उर्मिला, कस्तो नराम्रो सपना देखेँ । डर लाग्यो । अबदेखि म एक्लै सुत्दिनँ । भोलिदेखि त्यो कोठामा छोराछोरी मात्रै सुतून् ।’
त्यो दिनपछि शर्मा र पुनमको भेटघाट पनि हरायो । शर्माले आफ्नो सरूवा गरायो । नीलमनगरबाट उसको परिवार इलाम पुगे । विमल र पुनम पनि सबै सम्पत्ति, शेयर बेचबिखन गरेर बर्मा गए । धेरै दिनसम्म ‘घाँडो’ शब्दले शर्मालाई लखेटिरह्यो । इलाम सरूवा भएपछि उसले थेसिस गाइड गर्ने काम त्याग्यो । प्रशासनले जति कर गरे पनि अनेक बहाना बनाएर उम्कियो । २५ वर्ष बित्यो । शर्माका चारवटै छोरीहरु बिदा भए । छोरो रामेश्वर शर्मा जर्मनी पुग्यो । इलामबाट सरूवा भएर शर्मा फेरि पनि नीलमनगर आइपुग्यो ।
 
‘सर नमस्कार ! चिन्नुभयो ?’ एउटी युवतीले शर्मालाई अभिवादन गरिन् ।
 
शर्मा बोल्न सकेन । सामुन्नेमा साक्षात् पुनम ।
 
‘सर, म पुनम परियारकी छोरी शबनम शर्मा, मावल आएकी । आमाले हजुरलाई धेरै सम्झिनुभएको छ ।’ ‘हे भगवान् !’, शर्माको मनमा भूकम्प गयो । #चितवनपोष्टबाट