मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अमेरिकामा भयानक साइबर ह्याक

अमेरिकामा भयानक साइबर ह्याक


अमेरिकामा लाखौं कर्मचारीको व्यक्तिगत विवरण चोरी गर्ने अहिलेसम्मको ठूलो साइबर हमला भएको छ। ४० लाख संघीय कर्मचारीको व्यक्तिगत तथा गोप्य सूचना चोरी गर्ने यो हमला चिनियाँ ह्याकरबाट भएको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन्।
 
यद्यपी चीनले यो आरोपलाई अस्वीकार गरेको छ। अमेरिकी गुप्तचर निकाय (एफबीआई) ले यसमा गहिरो अनुसन्धान थालेको छ।
अमेरिकास्थित अफिस अफ पर्सनल म्यानेजमेन्टका कम्प्यूटरमाथि गत अप्रिलमा शंकास्पद गतिविधि भएका थिए। उक्त कार्यालय अमेरिकी संघीय कर्मचारीका व्यक्तिगत विवरण राख्ने सरकारी निकाय हो।
यो साइबर हमलालाई अमेरिकाले शत्रुबाट भविष्यमा आफ्नो मुलुकमाथि हुन सक्ने आक्रमणको योजनाबद्ध थालनीका रुपमा लिएको छ। सुरक्षा अधिकारीका अनुसार यसै वर्षको सुरुवातमा पनि चिनियाँ ह्याकरबाटै यहाँको एन्थम इन्स्योरेन्स कम्पनीमाथि यस्तै साइबर हमला गरी लाखौं बिमाकर्ताको सूचना चोरी भएको थियो।
 
पछिल्लो साइबर आक्रमण प्रकाशमा आएलगत्तै यहाँका लाखौं कर्मचारीको व्यक्तिगत तथा सम्पत्तिमाथिको सुरक्षाप्रति अमेरिकाभर चिन्ता र बहस सुरु भएको छ। गोप्य सूचना चोरी हुनेमध्ये कैयन् अवकास पाइसकेका र अन्य कैयन् हाल कार्यरत कर्मचारी समेत छन्।
 
समाचारअनुसार, ती कर्मचारीका सोसल सेक्यूरिटी नम्बर, घर–ठेगाना, जन्ममिति, बैंक खाता विवरण लगायतका गोप्य सूचना चोरी भएका हुन्। यस्ता गोप्य सूचनामै अमेरिकी नागरिकको जीवन चलेको हुन्छ।
सोसल सेक्यूरिटी नम्बर, जन्ममिति र ठेगाना खुलेपछि जोकोहीले चाहेमा हरेक व्यक्तिविरुद्ध जस्तोसुकै कार्य गर्न सक्ने यहाँको सिस्टम छ। सम्पत्तिमाथि हस्तक्षेप, सुरक्षा खतरा, व्यक्तिगत जीवनको स्वतन्त्रता सबै यस्तै गोप्य विवरणमा टिकेको हुनाले यो साइबर हमला ठूलो चिन्ताको विषय बनेको हो।
 
आफ्ना व्यक्तिगत गोप्य सूचना चोरी भएपछि लाखौं अमेरिकी कर्मचारीले अहिले असुरक्षित महसुस गर्न थालेका छन्। उनीहरुले सबै गोप्य विवरण चोरी भएपछि आफूहरूको धनजनको सुरक्षा र भविष्यप्रति चिन्ता व्यक्त गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।
 
यो साइबर आक्रमणपछि अमेरिकाले आधिकारीक रूपमा आफ्ना कर्मचारीलाई यसबारे अवगत गराएको छैन। यसको औपचारिक जानकारी र सुरक्षा उपायबारे छिटै जानकारी गराउने समाचारमा उल्लेख छ। हाल ती कर्मचारीलाई आफ्ना इमेल, बैंक खाता र अरु गोप्य विवरणका नम्बरहरु सकेसम्म छिटो परिवर्तन गर्न मात्र भनिएको छ।