मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको पहिलो काम : “सय दिन मास्क लगाऔँ अभियान”

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको पहिलो काम : “सय दिन मास्क लगाऔँ अभियान”


वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।  

उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने जानकारी दिएका हुन् ।   

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनुपर्ने मान्यताको विपक्षमा उभिँदै आएका छन् । 

राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लाग्नु भएको हो । 

अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरु विभाजित भएर यस विषयले राजनीतिक रुप लिएको थियो । 

मास्कको प्रयोगको विपक्षमा राष्ट्रपति लगायतका व्यक्तिहरु नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ ।  

राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्युन हुने विश्वास र दावी धेरैले गरेका छन् । अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नुपर्नेमा जोड दिँदै आएका थिए । उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यस अनुसारको निर्णय र कार्यक्रमहरु ल्याउने बताएका छन् ।  

मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन् ।  

आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेबारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका छन् ।   

अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।

आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भने, “मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरुलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।” 

उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारे । सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्युन हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरे । एपी