मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्दै

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्दै


वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका छन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति हुने जनाइएको छ ।

यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए । अहिलेसम्म उनलाई नै सबैभन्दा बूढो राष्ट्रपति मानिँदै आएको थियो । उमेर र स्वास्थ्य दुवै दृष्टिकोणले बाइडेनभन्दा ट्रम्प चार वर्ष कान्छो भएको समाचारमा उल्लेख गरिएको छ । 

उमेरको हिसाबले बाइडेन वृद्ध भए पनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उनी रहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरुले बताएका छन् । 

बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिस भने उनीभन्दा झण्डै २० वर्ष कान्छी छिन् ।  बाइडेनले आफूलाई अन्तरिम राष्ट्रपतिको रुपमा व्याख्या गरेकाले दोस्रो कार्यकालका लागि उनले उम्मेदवारी नदिने संभावना रहेको छ । 

उनी यसअघि सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति थिए । त्यसअघि बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म निरन्तर सिनेटर भएका थिए । उनी सन् १९८८ मा पनि राष्ट्रपतिका लागि प्रत्यासीका रुपमा उभिएका थिए । तर, बेलायती एक राजनीतिज्ञको भाषण अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेपछि उनी पछाडि परेका थिए ।  

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० अमेरिकाको पेन्सिल्भेनिया राज्यअन्तर्गत पर्ने स्क्रान्सटनमा भएको हो । उनलाई पटकपटक पारिवारिक शोक परेको थियो । उनकी पहिलो पत्नी नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भएको थियो । 

सिनेटमा पहिलो पटक चुनाव जितेपछि शपथग्रहण गर्न जाँदै गर्दा दुर्घटनामा परेर नेलिया र नाओमीको मृत्यु भएको हो । दुर्घटनामा दुई छोरा पनि घाइते भएकामा बो बाइडेनको २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कसम्बन्धी समस्याका कारण मृत्यु भएको थियो । उनी चौथो सन्तान हुन् ।

उनले उच्च शिक्षाअन्तर्गत कानुन अध्ययन गरेका थिए भने अमेरिकामा लामो समय निरन्तर राजनीतिमा सक्रिया नेताका रुपमा चिनिन्छन् । एपी