विचार / ब्लग

के ट्रम्प फेरि राष्ट्रपति हुन लायक छन्?

प्रकाशित |

विश्वभर नै निकै चासो पूर्वक लिइएको अमेरिकी राष्ट्रपतिको चुनाव भोली मंगलवार नोभेम्वर ३ मा सम्पन्न हुँदैछ। अमेरिकी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प वा डेमोक्रेट उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडन मध्ये को निर्वाचित होलान् भनेर संसार भरका संचार माध्यम र विश्व नेताहरुको ध्यान अहिले अमेरिका तिर नै केन्द्रित भएको छ।

करिब १५ करोड ३० लाख जति मतदाता मध्ये ९३ मिलियन अर्थात ९ करोड तीस लाख (करिब ६०%) जति मतदाताले अक्टुवर १३ देखि ३० सम्म निर्धारित अग्रिम मतदानको समय भित्रै मतदान गरिसकेका छन्। मेल-इन-व्यालट’को समेत व्यवस्था भएकाले त्यसका लागि योग्य अमेरिकी मतदाताले हुलाक मार्फत समेत मतपत्र पठाएर मतदानमा सहभागी भएका छन्।

अमेरिका संसारभरका मान्छेहरुको गन्तव्य मुलुक रहँदै आएको छ। नेपालीहरुका लागि पनि कमाउनका लागि होस् कि स्थायी बसोबासका लागि अमेरिका पहिलो रोजाइको देश हो। तर केही समय यता अमेरिका आप्रवासीहरुका लागि त्यति सहज हुन सकिरहेको छैन।

राष्ट्रपति ट्रम्पले २०१६ को राष्ट्रपति चुनावका बेला देखि नै आप्रवासीहरुलाई निकै हेयको दृष्टिले हेर्दै आइरहेका छन्। सार्वजनिक अभिव्यक्तिका बेला होस् कि ट्वीट्का माध्यमले होस्, मिलेसम्म उनी आप्रवासी समुदायप्रति असहिष्णु देखिंदै आएका छन्। आफैं पनि जर्मन आप्रवासीको नाती हुन् र पनि उनी आप्रवासीहरु प्रति निकै अनुदार छन्। हालकी प्रथम महिला मेलानिया ट्रम्प (ट्रम्पकी तेश्री श्रीमती) समेत आप्रवासी हुन् र २००६ मा मात्र बैवाहिक अंगिकृत नागरिक भएकी हुन् र पनि उनी आप्रवासीहरुप्रति अति नै नकारात्मक लाग्छन्। अमेरिका आप्रवासीहरुको मेहनत र पसिनाबाट समृद्ध भएको देश हो। र, यो देश संसारभरका आप्रावासीका लागि कर्मभूमी पनि हो।

आधा भन्दा धेरै मतदाताले मतदान गरिसकेका भएपनि भोली हुने अन्तिम मतदानमा भोट गर्नु पूर्व रिपव्लिकन ट्र्म्प वा डेमोक्रेट बाइडेन मध्ये कसलाई छान्ने अन्तिम विकल्प अमेरिकी मतदाताहरुका लागि उपलब्ध छ।

फेडरल जुडिसरी सिस्टममा परिमार्जन, स्पेस फोर्सको गठन, ट्याक्स रिफर्म, आतंकवादी संगठन आइएसआइका मुख्य व्यक्ति अबु बकर अल बग्दादीलाई मार्ने काम, गैरकानूनी आप्रवासी र आपराधिक घुसपैठ रोक्नका लागि बोर्डर-वाल निर्माण ट्रम्प प्रशासनले गरेका केही राम्रा काम हुन्।

संसारको सबभन्दा शक्तिशाली विश्व नेताका रुपमा विश्वस्तरमा अमेरिकी नेतृत्व निकै निस्प्रभावी बन्दै गइरहेको बेला हुन लागेको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा नेपाली-अमेरिकन मतदाताहरुले ख्याल गर्नुपर्ने मुख्य चासोलाई केन्द्रित गरेर यो चुनाव आलेख तयार पारिएको हो । तसर्थ ट्रम्पलाई भोट दिन कस्सिएका सबै नेपाली-अमेरिकन मतदाताहरुले ट्रम्पका नराम्रा कामहरुलाई पनि सम्झिनु उपयोगी होला।

‘सिटहोल’ कहलाउने कि सम्मानित आप्रवासी?

राष्ट्रपति ट्र्म्प आफैं आप्रवासीको सन्तान हुन् र पनि आप्रवासीहरुप्रति जहिल्यै कटु वचन बोल्न पछि पर्दैनन्। उनले आप्रवासीहरुलाई ‘सिटहोल’ समेत भन्न भ्याएका छन्। डिभी चिठ्टा परेर आउनेहरुलाई ‘ट्रयास-विन’ भन्दै अमेरिकी जनताको श्रम खोस्नेहरु पनि भनेका छन्। अमेरिकी राष्ट्रपति अमेरिकाको मात्र नभएर विश्व नेता पनि हो। संसारभरका प्रजातन्त्र र मानवअधिकारका पक्षधरहरुका लागि ट्रम्पको छाडा बोली, आप्रवासी अमैत्री र अमेरिका पहिले भन्ने नीतिले अमेरिकी आस्था धारासायी हुने अवस्थामा पुगेको छ।

कोभिड-१९ व्यवस्थापनमा कमजोरी

ट्रम्प विज्ञानलाई होइन भिडलाई मन पराउॅछन्। अहिलेको कोरोना माहामारीका बेला समेत सिडिसी लगायतले तय गरेको आधारभूत स्वास्थ्य निर्देशिकालाई ट्रम्पले धोती लाइदिएका छन्।

हजारौंको भिड्मा जाने र जनस्वास्थ्य विज्ञहरुको सुझावको विपरित मास्क लगाउन समेत इन्कार गर्दै आइरहेकाछन्। कोरोना भाइरस संक्रमण भएपछि अस्पताल गएका ट्रम्पले अस्पतालबाट निस्केर राष्ट्रपतिको गाडीमा चढेर उनका समर्थकहरुलाई अभिवादन गर्नेजस्तो गैर जिम्मेवार हर्कत समेत गरे। अस्पताल गएको पॅाच दिन मै बाहिरिए र त्यसपछि लगातार सार्वजनिक चुनावी सभाहरुमा व्यस्त छन्। उनलाई न मास्कको वास्ता छ, न सामाजिक दुरी कायम राख्ने चिन्ता। जसरी पनि चुनाव जित्ने अभियानमा होमिएका राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतिको पदलाई ट्रम्पको नीजि व्यवसाय झैं संचालन गरिरहेछन्। उनलाई न स्वास्थ्य विज्ञको मतलब छ, न आम जनताको स्वास्थ्यको! कोरोनाका लागि सिडिसीले तयार पारेको प्रोटोकल ट्रम्प र उनका समर्थक बाहेकका लागि मात्र हो झैं गरिएको छ। आज नोभेम्वर २ सम्ममा संसारभर चार करोड ६५ लाख संक्रमित हॅुदा अमेरिकामा ९३ लाख जनामा (३३ करोड जनसंख्याको २.८%) कोरोना भाइरस संक्रमण भएको छ भने संक्रमित मध्ये २.५ प्रतिशत अर्थात करिब दुई लाख ३० हजारको मृत्यु भइसकेको छ। राष्ट्रपतिका हैसियतमा ट्रम्पले सार्वजनिक उपस्थितिका बेला मास्क लगाएर सर्वसाधरण जनतालाई मास्क लगाउन उत्प्रेरित गर्नुको सट्टा देशकै प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीलाई होच्याउने र चुनाव पछि बर्खास्त गर्ने योजना सार्वजनिक गर्नमा मस्त देखिंदै छन्। उनले फाउचीलाई ‘डिजास्टर’ र ‘इडियट’ समेत भन्न भ्याएका छन्। गत साता एकैदिनमा करिब एक लाख नयाँ संक्रमित थपिएको अमेरिकामा कोरोना भाइरस नियन्त्रण निकै कठिन हॅुदै गइरहेको देखिन्छ। राष्ट्रपति ट्रम्पले चुनाव अघि नै भ्याक्सिन सार्वजनिक गर्ने घोषणा गरेका भएपनि कोरोना भाइरस विरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनिहरुले त्यो सफलता चुनाव अघि नै पाउने संभावना अत्यन्त न्यून छ।

कोभिड-१९ कारण करोडौं अमेरिकीहरुले रोजगारी गुमाए भने लाखौं व्यवसायहरु धरासयी भए। राज्य कोषबाट दिइएको सहयोग समेत नजिककाहरुलाई पोस्ने गरि दिइयो भन्ने आरोप पनि ट्रम्प माथि लागेकै छ।

छाडा बोली र कमजोर अन्तराष्ट्रिय सम्बन्ध

सन् २०१६ को राष्ट्रपतीय चुनाव देखि नै ‘अमेरिका फर्स्ट’ र ‘मेक अमेरिका ग्रेट अगेन’ जस्ता पपुलिस्ट नारा दिंदै आइरहेका ट्रम्पले राष्ट्रपति भएपछि लिएको आन्तरिक र बाह्य नीतिहरु बिवाद रहित हुन सकेको छैन। त्यस अतिरिक्त मेक्सिकोसंगको सिमानामा पर्खाल लगाउने, कागजपत्र बीहिन आप्रवासीलाई बलजफ्ती देश निकाला गर्ने, व्यवसाय कर कटौती, ओवामा केयरको नामले चिनिएको बहुचर्चित स्वास्थ्य बीमा कार्यक्रमलाई प्रतिस्थापन गर्ने प्रयास जस्ता घरेलु मामिलाहरुले उनलाई विपक्षी डेमोक्रेटहरुसंग आमने-सामने बनाइरह्यो।

यस अतिरिक्त जलवायु परिवर्तनसंग जुध्न विश्वमंचले देखाएको अग्रसरता सहितको ऐतिहासिक पेरिस सम्झौताबाट पछि हट्ने, इरानसंगको शक्तिराष्ट्रहरु सम्मलित सम्झौता/समझदारीबाट अमेरिकालाई अलग्याउने उनको निर्णय र चीन सहित केही यूरोपियन देशहरुसंगको व्यापार बिवाद लगाएत विश्व व्यापार र सुरक्षा नीतिहरुमा उनले लिएको अडानले अमेरिका भित्र अनुदारवादी रिपव्लिकनहरुबीच लोकप्रिय बनाइरहेपनि विश्व राजनीतिमा उनको मान खस्किएको ताजा घटनाक्रमहरुले देखाइरहेका छन्।

अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्पको सार्वजनिक अभिव्यक्ति र सामाजिक संजालमा व्यक्त टिप्पणीहरु नियाल्दा अमेरिका जस्तो विश्वशक्ति राष्ट्रको प्रमुखको जस्तो कहिल्यै देखिएन र सुनिएन। उनको समर्थन नगर्ने विपक्षी हुन् कि आफैंले नियुक्त गरेका आफ्नै क्याबिनेटका सदस्य, त्यसका विरुद्ध उनले निकै निकृष्ट शैलीमा आलोचना गर्दै आइरहेका छन्। आफ्नो पूर्वप्रतिद्वन्द्धि हिलरी क्लिन्टन र अहिलेका प्रतिद्वन्द्धि जो बाइडेनलाई उनले कहिल्यै सम्मानपूर्वक सम्बोधन गरेरन्। आफ्ना प्रमुख विपक्षीहरुलाई ‘क्रुकेड हिलरी’ र स्लिपी जो’ वा स्लिपी बाइडेन’ बाहेक उनले कहिल्यै राम्रो नामले सम्बोधन गरेनन्।

विश्वस्तरका नेगोसियटर भनिएका पूर्व स्टेट सेक्रेटरी रेक्स टिलर्सन हुन् कि अब्बल भनेर नियुक्त गरेका एटर्नी जनरल जेफ सेसन वा सुरक्षा सल्लाहकार जन वोल्टन, सबैलाई बर्खास्त गर्दा उनले गरेको टिप्पणी निकै निकृष्टस्तरको थियो। उनको योजनालाई सहर्ष स्विकार नगर्दा जर्मनी, फ्रान्स, क्यानडा र बेलायत जस्ता मित्रशक्ति देशहरुका नेताहरुप्रति समेत ट्रम्पले आफ्नो छुद्रता प्रकट गर्न भ्याएका छन्। दोश्रो आर्थिक शक्ति देश चीनसंगको सम्वन्ध र व्यापारका मामिलामा भइरहेको असमझदारीले विश्व व्यापारमा नै निकै असजिलो परिस्थिति ल्याइदिएको छ। साधारण रुपमा बुझ्दा अमेरिका चीनसंग अहिले व्यापार युद्धको अवस्थामा छ। ‘लिटिल रकेटम्यान’ भनेर होच्च्याइएका उत्तर कोरियाली तानाशाह किम जङ उनसंग उनले शुरु गरेको निसस्त्रिकरण वार्ता निष्कर्षमा पुग्न सकेको छैन भने रसियाको समर्थनमा चुनाव जितेको आरोप खेपेको भएपनि रसियासंगको सम्बन्ध समेत खासै उल्लेखनीय सुधार भएको पाइएन।

समग्रमा उनको पहिलो कार्यकालमा विश्व सम्बन्ध सुधार भन्दा कमजोर मात्र बन्यो। अमेरिकाको बलिया समर्थक युरोपियन देशहरु ट्रम्पको असहिष्णु अभिव्यक्तिका कारण पहिलेजस्तो दृढ अमेरिकी समर्थक देखिंदैनन्। इजरेल मध्यपूर्वमा बलियो अमेरिकी समर्थक हो भने साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स व्यापारिक कारणले अमेरिकाको समर्थक देखिएका छन्। इरानसंगको सम्बन्ध झनै बिग्रेको छ भने क्यूबामा ओवामा प्रशासनले स्थापना गरेको अमेरिकी दूतावास बन्द गरिएको छ। भेनेजुयलाका तानाशाह मदुरोको विकल्प मानिएका स्वघोषित राष्ट्रपति हुवान ग्वाइदो अमेरिकी समर्थन पाएर पनि खासै सफल देखिन सकेनन्।

तथ्यहरुलाई आफ्नो स्वार्थमा बढाई-चढाई गर्ने र फरक मत राख्नेहरुप्रति निर्मम ढंगले प्रस्तुत हुने , आफ्ना कुण्ठा, रिस र आवेगलाई ट्वीट मार्फत सार्वजनिक गरिहाल्ने उनको शैलीले अमेरिकी राष्ट्रपति पदको गरिमा र मर्यादालाई घटाएको धेरैको विश्वास छ। अन्तराष्ट्रियस्तरमा पनि ट्रम्पको खरो व्यवहार र रुखो प्रस्तुतिले अमेरिकी नेतृत्वलाई विश्वसामु कमजोर बनाएको अमेरिकी संचार माध्यमहरुले जनाउॅदै आएका छन्। केही महिना पहिले पेरिसमा सम्पन्न नेटोको सम्मेलनमा केही विश्व नेताहरुको ट्रम्पप्रतिको अनौपचारिक टिप्पणीले पनि उनको खस्किंदो अन्तराष्ट्रिय छविलाई उजागर गरिदिएको थियो।

मिडियासंगको सम्बन्ध र गलत तथ्याङ्कको प्रयोग

राष्ट्रपति ट्रम्पले आफ्नो मनमा लागेको कुराको पुष्टि गर्न गलत तथ्याङ्क र स्रोत प्रयोग गर्न कहिल्यै पछि पर्दैनन् भन्ने आरोप प्रमुख अमेरिकी संचार माध्यमहरुले लगाउॅंदै आएका छन्। उनले आफ्नो चारबर्षे कार्यकालमा फक्स न्यूज बाहेकका सिएनएन, न्यूयोर्क टाइम्स, वासिंङ्टन पोष्ट, एनबिसी लगायतका प्रमुख संचार माध्यमलाई कहिल्यै आफ्नो पक्षका मानेनन्। उनका गतिविधिलाई समर्थन नगरेकाले ती सबै प्रमुख मिडियाहरु ‘फेक न्यूज मिडिया’ भनिए। सिएननका ह्लाइटहाउस सम्वाददाता जिम एकोस्टाको ह्लाइटहाउस प्रवेश पास निलम्वन गरिदिए भने कैयन संचारकर्मीहरुसंग ‘प्रेस मिट’का दौरान अभद्र व्यवहार गरे। ट्रम्पको व्यवहार र बोलीचाली हेर्दा सक्ने भए उनले मिडिया माथि प्रतिबन्ध नै लगाउने थिए कि भन्ने झल्को दिए।

उनका गतिविधी र प्रतिक्रिया कतिसम्म तथ्यपरक हुन्न भन्ने उदाहरण त ट्वीटरले उनका केही विवादास्पद ट्वीटलाई गरेको ‘सेन्सर’ले समेत थाहा लाग्छ। अमेरिकी चुनावमा प्रयोग भइरहेको ‘मेल-इन व्यालट’ प्रकियाप्रति उनले गरेको टिप्पणी र कोभिड-१९ का सन्दर्भमा उनले गरेको ट्वीटलाई ट्वीटरले ‘मिसलिडिङ’ सूचना दिएको भन्दै ‘इन्भिजिवल’ बनाइदिएको थियो। ट्वीटरमा आठ करोड ७३ लाख फलोअर्स रहेका ट्रम्पले आफ्नो प्राय सबै निर्णयहरुको खुलासा ट्वीट मार्फत नै गरे भन्दा फरक नपर्ला। समग्रमा भन्दा राष्ट्रपति ट्रम्पको पहिलो चारबर्षे कार्यकालमा मिडियासंगको सम्बन्ध निकै तिक्ततापूर्ण रह्यो।

इम्पिच्ड हुने तेश्रो राष्ट्रपति

राष्ट्रपतिमा निर्वाचित हुन रसियन सहयोग लिएको भन्ने आरोपमा छानबिनको दायरामा परेका ट्रम्पले झण्डै अढाई बर्ष बिशेष अनुसन्धानकर्ता रबर्ट मुलरको अनुसंन्धानबाट छुटकारा पाए लगत्तै डेमोक्रेटहरुद्वारा इम्पिचमेण्टको भूमरीमा परेका ट्रम्प अमेरिकी इतिहासमा संसदबाट महाअभियोग लागेका तेश्रो राष्ट्रपति बने। एन्ड्र्यू जन्सनले सिनेटमा मतदान हुनु अघि नै राजिनामा दिएका थिए भने विल क्लिन्टन र राष्ट्रपति ट्रम्पले सिनेटमा आफ्नो पार्टीको बहुमत भएका कारण महाअभियोगबाट बर्खास्त हुनबाट बचे।

डेमोक्रेटहरुको आरोप अनुसार राष्ट्रपति ट्रम्पले गत जुलाई २५, २०१९ मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जिलेन्स्कीसंग टेलिफोन सम्वादका क्रममा राष्ट्रपतीय चुनावका प्रतिद्वन्द्धी एवं अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडन र उनका छोरा हन्टर बाइडन माथि यूक्रेनमा अनुसंन्धान अघि बढाउन दबाव दिएका थिए। अमेरिकाले युक्रेनलाई दिने भनेको करीब ४० करोड डलर बराबरको सुरक्षा सहायतालाई रोकेर बाइडन बाबु-छोरा माथि अनुसन्धान गर्न मोलतोल गरेको सूचना एक विशेष सूचनादाताले दिएको जानकारी प्राप्त भएपछि हाउसकी स्पिकर न्यान्सी पेलोसीले राष्ट्रपति माथि महाअभियोग लगाउन आवश्यक अनुसंन्धान गर्ने औपचारिक घोषणा गरेकी थिइन्। त्यसपश्चात डेमोक्रेटहरुको बहुमत रहेको हाउसको इन्टेलिजेन्स कमिटीले केही साता लामो गोप्य एवं खुल्ला सुनुवाई र साक्षीहरुसंगको सोधपुछबाट राष्ट्रपतिले पदको दुरूपयोग गरेर २०२० को चुनावका संभावित विपक्षीलाई बिदेशमा अनुसन्धान गर्न दबाव दिएको निश्कर्ष निकाल्यो र सोही आधारमा उनी बिरुद्धको महाअभियोगको प्रस्ताव बहुमतद्वारा पारित भयो।

अस्वेतहरुको आन्दोलन

ट्रम्पको शासनकालमा अस्वेत अमेरिकीहरुको आन्दोलनले अमेरिका भर ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्ने आन्दोलन स्थापित गरिदियो। मिनियापोलिसमा अस्वेत जर्ज फ्लोइडलाई प्रहरी कार्बाहीका दौरान घाँटी थिचेर गरिएको हत्या पश्चात अमेरिका भर एउटा शसक्त आन्दोलन भयो। त्यसले कैयन राज्यहरुमा महिनौंसम्म अस्वेत अमेरिकीहरुलाई आन्दोलित बनाइरह्यो भने मानव अधिकार र प्रजातन्त्रका लागि कहलिएको अमेरिकामा काला जातिकाहरु प्रति हुने भेदभावको खुलासा पनि गरिदियो।

राष्ट्रपति ट्रम्पका कतिपय सार्वजनिक अभिव्यक्तिहरुले उनलाई ‘रेसिस्ट’ भएको आरोप पनि लाग्ने गरेको छ। गोराहरुको पक्षपोषण गरेर अन्य जातकाहरुप्रति असहिष्णु भएको आरोप राष्ट्रपति ट्रम्पलाई लागेको छ।

यी समग्र तथ्यहरुको विश्लेषणबाट यति चाहिं भन्न सकिन्छ— राष्ट्रपति ट्रम्प दोश्रो कार्यकालका लागि उपयुक्त पात्र होइनन्। उनले फेरि पनि चुनाव जिते भने अमेरिकी राष्ट्रवादको नाममा अमेरिकाको विश्व नेतृत्व अझ खस्कने छ। अहिले अमेरिकी नेतृत्व अमेरिका पहिले भनेर मात्र बस्न मिल्दैन, उसले समग्र विश्वको नेतृत्व गर्नु पर्छ। तसर्थ, नेपाली-अमेरिकन मतदाताज्यूहरु भोट दिनु पूर्व सोच्नु होला-संसारकै मान-प्रतिष्टा पाउने अमेरिकी राष्ट्रपति छान्ने कि केही सीमित बर्ग र समुहको अमेरिकी राष्ट्रपति छान्ने?


प्रतिक्रिया