ती दशैंका धङधङी बोक्दै
यत्रतत्र नियाली रहेछु
फूल र पातीहरुमा
चराहरुकोका चिर्बिरमा
सिरसिरे बतासमा
पातलिदो घाममा
मानिस , मानिसको अनुहारमा
सत्र वर्षदेखि
यो दूर दराजमा
निरन्तर दशैं खोजिरहेछु
यहाँ पनि
खल्पी अचार
करेसाबारीका साग
लटरम्म फलेका घिरौंला
हिउँदे सिमी
सयपत्री , गोदावरी र मखमली
धूप , अगरबत्ती
जमरा र रातो टीका
मन्दिरमा बज्ने घण्टहरुमा
दशैं खोजिरहेछु
जंजीरले बाँधिएका समयसंगै
कंक्रीटको यो दुनियाँमा
हरिया डलरको सुगन्धमा पनि
अहँ
कहीं कतै भेटिएन दशै
आमाबाबा
अनि
परिवारका उही
हाँसो र उल्लास सम्झन्छु
एकान्तमा
भिडमा पनि
जब ,जब दशैंको
मौसम आउँछ
म दशै खोजिरहन्छु
मैसेंजरमा आउँछ शुभकामना
फेसबुकमा छाउँछ दशै
छ
शुभकामना
बग्रेल्ति छ
तर
न हुस्सु छ
न कुहिरो छ
न उडिरहेको चंगा छ
आकाशमा
न पिङ छ
न पहेलपुर धान छ
न कुनै चहलपहल छ
खोई त्यो दशैं
कहाँ छ ?
हुन त
घरदेशमा पनि
न दशैंको पूरक बाबा हुनुहुन्छ
न दशैं भित्र्याउने आमा हुनुहुन्छ
दाजुभाइ दिदीबहिनी
यत्रतत्र सर्बत्र छरिए
आफ्नाहरु परदेशमै भरिए
सुनसान बजार
रित्ता गाउँघर
कोरोनाले पारेको
आलो घाउहरुमा
दशैं
उता पनि
के होला र !
सानो छँदा
बुबाले किनिदिनु भएको
रातो घाँघर
दशैं बनेर आउँथ्यो
आमाले दिनु भएको थैली
भरिएर जब छनछन बज्थ्यो
दशैं असाध्यै रमाइलो लाग्थ्यो
आशिष र स्नेहमा
मान र मर्यादामा
धर्म र कर्तव्यमा
संस्कार र परम्परामा
शीरदेखि पाईंतालासम्म
गाउँदेखि शहरसम्म
मेरो मनको देशमा
समस्त नेपालीको
मनभरी
मुहारभरी आउने
त्यही दशैं खोजिरहेछु
प्रतिक्रिया