मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु, निको हुनेको संख्या एक लाख नाघ्यो

बिहीबार ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु, निको हुनेको संख्या एक लाख नाघ्यो


काठमाडौँ । नेपालमा बिहीबार एकैदिन ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ ।     

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । 

पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई ३२१५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख २ हजार ८०२ पुगेको छ । जुन कुल संक्रमितको ६९.२३ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १५५२ जना संक्रमित थपिएका छन् । काठमाडौँका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ६४ हजार १३६ पुगेको छ । जसमा काठमाडौँमा कुल ५१ हजार ७४७, ललितपुरमा ७ हजार ३१६ र भक्तपुरमा ३ हजार ८६४ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका प्रयोगशालामा थप १५ हजार २५५ जनासहित हालसम्म १३ लाख ५० हजार १५२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ३ हजार ७५१ जना क्वारेन्टाइनमा र ४४ हजार ८७७ जना आइसोलेसनमा रहेका छन् ।   

सक्रिय संक्रमितमध्ये ३१ हजार ५३८ जना होम आइसोलेसनमा र १३ हजार ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार देशभर २९० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ७७ जना भेन्टिलेटरमा उपचाररत छन् ।