मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सेनाको इतिहास गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो : प्रधानमन्त्री

सेनाको इतिहास गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तरक्रियाको आवश्यकता औँल्याएका छन् ।  ‘पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने यस्ता छलफल र अन्तरक्रियाले राष्ट्रिय सुरक्षाका चुनौती पहिल्याउन महत्त्वपूर्ण योगदान पुग्ने बताए । 

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले भने, “सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै कार्य उच्च राष्ट्रिय महत्त्वका हुन्छन् । सेनाले सम्पन्न गरेका सबै कार्य राष्ट्रिय उपलब्धि हुन् ।”  

कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण तथा बाढी, पहिरो र डुबानजस्ता विपदमा सेनाले निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाइँमा केन्द्रदेखि प्रदेश र स्थानीय तहमा पु¥याएको सहयोगको समेत प्रशंसा गरे । 

प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणपछि स्वदेश फर्केका नेपालीलाई क्वारेन्टाइन र आइसोलेसन सेन्टरको व्यवस्थापन तथा सङ्क्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्ने सैनिक जवानको कार्यको सरकारले उच्च प्रशंसा गरेको बताए । 

कठिन भूगोल र प्रतिकूल मौसम भए पनि छोटो अवधिमा नै दार्चुलाको छाङ्रुमा सेनाले घोडेटो बाटो निर्माण गरी हस्तान्तरण गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ ।”

कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनले सेनाको कार्यसम्पादन उत्साहजनक रहेको बताउँदै उनले विद्यमान अन्तरराष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीबीच पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सम्बोधनको आवश्यकता तत्कालीन चुनौतीका रुपमा देखिएको बताए । 

राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेलेर जनतामा त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूह राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “सेनाभित्रै हुन सक्ने घुसपैठमा पनि सङ्गठनको उच्च नेतृत्व सजग र सचेत रहनुपर्छ ।”

निर्दिष्ट संवैधानिक दायित्व सम्पादन तथा राष्ट्रिय हितलाई सम्वद्र्धन गर्न सेनालाई समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने बताउँदै उनले सेनाको दीर्घकालीन सोच, पुनर्संरचना योजना तथा अपरेसनल अवधारणामा सरकार सकारात्मक रहेको बताए । सेनाभित्र पारदर्शिता र इमान्दारीको अभ्यास स्थापित हुँदै गएको आफूले पाएको बताउँदै प्रधानमन्त्री ओलीले सेनाप्रति जनताको विश्वास कायम राख्नमा सजग रहन आग्रह गरे ।      

कोभिडविरुद्ध कार्ययोजना बनाइने

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सिर्जित अन्योल र आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुन सक्ने चुनौतीको सामना गर्ने कार्ययोजना बनाउन बैठकले दिशानिर्देश गर्ने बताए । बलाधिकृत रथी प्रभुराम शर्माले सङ्गठनले अघि सारेका कार्यक्रम र लक्ष्य प्राप्त गर्ने दिशामा सरकारबाट सकारात्मक सहयोग प्राप्त भइरहेको स्पष्ट गरे ।

तीन दिने उक्त बैठकमा महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझावका सम्बन्धमा प्रस्तुति दिनेछन् । रासस