मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जिताऔँ जो वाइडेनलाई

जिताऔँ जो वाइडेनलाई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको राजनीतिमा नेपाली समुदायको चासो बढिरहेको छ । यही क्रममा नोभेम्बर ३ मा हुन लागेको अमेरिकाको चुनावमा कैयौँ नेपाली पनि सक्रिय भइरहेका छन् । चुनावका क्रममा उठेका राजनीतिक मुद्दामा बहस, भोट हाल्ने र हाल्न लगाउनेदेखि निर्वाचन अभियानमै नेपाल समुदाय पनि सक्रिय हुन थालेको छ । कुनै पार्टी कुन उम्मेदवारलाई भोट हाल्ने सवैको व्यक्तिगत रोजाई हो तर, हामी हाम्रो समुदायलाई यो सन् २०२० को निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई भोट हाल्न अनुरोध गर्दछौँ । 

हामी उदार पक्षधर हौँ । लचिलो इमिग्रेसन पोलेसीका पक्षमा छौँ । शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा राज्यले न्यून आम्दानी भएका वर्गलाई केही न केही  सहुलियत दिनुपर्छ भन्ने पक्षमा छौँ । वर्ण, रंग, जाति, भेदरहित समाजका पक्षमा छौँ । सबैले समान अवसर पाउनुपर्छ भन्ने पक्षमा छौँ । विश्वकै शक्तिशाली देश अमेरिकाको राजनीतिमा देश विदेशका सबैले पत्याउन सक्ने भरोसायोग्य व्यक्ति पुग्नुपर्छ भन्ने पक्षमा हामी छौँ । यी मुद्दा डेमोक्र्याटिक पार्टीले उठाउँदै आएको छ । यसैले डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो वाइडेन र कमला ह्यारिसले हामी समर्थन गर्छौं ।

कांग्रेस होस् वा सिनेटमा डेमाक्र्याटिक पार्टीले यस्तै यिनै मुद्दा उठाउने गरेको छ । अहिले कांग्रेसमा डेमोक्र्याटिक पार्टी बहुमतमा छ । सिनेटमा भने रिपव्लिकन बहुमतमा छन् । जसले गर्दा न्यून र सीमित आम्दानी भएका वर्गको आवाज मलिनो भएको छ । कांग्रेसमा समेत अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत भएको भए के हुन्थ्यो होला ? यो गम्भीर प्रश्न हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ वर्ष ९ महिनाकोे कार्यकालमा अमेरिकालाई हानी हुने निर्णय भने गरेनन् । अर्थतन्त्र बलियो भयो । रोजगारका अवसरहरु वृद्धि भए । यी सकरात्मक पक्ष हुन् । शेयर बजार बढ्यो । रोजगार बढ्यो, घन्टाका दरले पाउने पैसा आम्दानी पनि बढ्यो तर, न्यून आम्दानी भएको वर्ग अझै पनि संघर्षरत छ । आम्दानी बढ्यो तर, खर्च पनि त्यहीरुपमा वृद्धि भएको छ । घरभाडादेखि रियलस्टेटसम्म महँगो भएको छ । यसबाट धनी झन धनी भइरहेका छन् । 

राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीलाई समयमै नियन्त्रण गर्न सकेनन् । यसलाई नियन्त्रण गर्नुको साटो अर्थतन्त्रलाई चलायमान बनाउन बेरोजगार भत्ता, व्यवसायलाई विभिन्न सहुलियत दिए । राज्यले दिएको यो सहुलियतबाट समान्य रोजगारी गर्नेभन्दा पनि उद्योग व्यवसाय गर्ने वर्गलाई बढी फाइदा पुग्यो । सरकार निकट हुनेले गोप्य सूचना पाएर शेयरबजारबाट समेत फाइदा उठाए । तर, कोरोना महामारीको दीर्घकालीन असरदेखि नै बाँकी छ । यो महामारीसँग लड्ने स्पष्ट नीति विश्वकै शक्तिशाली देश भएर पनि अमेरिकासँग छैन । ट्रम्पले यो महामारीलाई पार लगाउन सक्दैनन् भन्ने संकेतहरु देखिइसकेका छन् । अहिलेको मुख्य आशा भनेको खोप आएपछि ठीक हुन्छ भन्ने हो । तर, पनि आमसर्वसाधारणले अझै कयौँ महिना यसका लागि कुर्नुपर्ने स्पष्ट नै छ ।

राष्ट्रपति ट्रम्पले सार्वजनिकरुपमा अभिव्यक्त गर्ने भनाइमा पनि कुनै शालिनता देखिँदैन । कहिले के भन्छन् कहिले के ? एकरुपता पनि छैन । ह्वाइट हाउसमा परिवारवाद हाबी छ । उनले अमेरिकालाई निजी व्यावसायिक प्रतिष्ठानजस्तो गरेर सञ्चालन गरिरहेका छन् ।

आम व्यवसायीले देखाउने चरित्र उनमा छ । एउटा समाजसेवी राजनीतिज्ञमा हुनेपर्ने जस्तो बोली व्यवहार र शालिनता उनमा छैन । उनी व्यवसायी पनि भएकाले यो स्वभाववाट अब पनि मुक्त हुने छैनन् । उनको ट्याक्स फाइल र व्यवसाय सधैँ विवादमा छ । यही कारण अहिले हाम्रो समुदायका लागि ट्रम्पको भन्दा वाइडेनको जीत नै महत्त्वपूर्ण छ ।

अमेरिकामा रिपब्लिकन पार्टीको पक्षधर हुँदा हुँदै पनि अर्को पार्टीका उम्मेदवारलाई समर्थन गर्नु कुनै नयाँ होइन । रिपब्लिकन पार्टीको कार्यकालमा महत्त्वपूर्ण भूमिका निभाएकाहरुले यसपटक वाइडेनलाई समर्थन गरेका छन् । अमेरिका बस्ने धेरै नेपालीहरुको चाहना पनि वाइडेनले नै जितुन भन्ने छ । हामी पनि यसलाई समर्थन गर्छौं ।

कति स्थानमा अग्रीम मतदान गर्ने सुविधा छ । र, यो सुरू भइसकेको छ । हुलाकबाट पनि आफ्नो मत हाल्न पाइन्छ । नोभेम्बर तीन पनि नजिक आउँदै छ । मतदान अमेरिकी नागरिकता स्वीकार्दा पाइने एउटा महत्त्वपूर्ण अधिकार हो । हामी नेपाली समुदाय जसले यहाँको नागरिकता लिनुभएको छ । यो अधिकार पूरा गर्न पनि अनुरोध गर्छौं । र, यस पटक डेमोक्र्याटीक पार्टीका राष्ट्रपति उम्मेदवार वाइडेन र अन्यलाई सहयोग समर्थन र मत दिन पुन: अनुरोध गर्छौं ।