मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोरोनाबाट विश्वभर १० लाख ८ हजार मानिसको मृत्यु

कोरोनाबाट विश्वभर १० लाख ८ हजार मानिसको मृत्यु


नयाँ दिल्ली । कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाख आठ हजार पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । 

कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले चुनौती दिँदै निरीह बनाएको छ ।

“मृत्यु भएकाहरुको यो केबल सङ्ख्या मात्रै होइन, यसमा मानवीयताको कुरा छ, लाखौँ मानिसको प्रेम जोडिएको छ, त्यसैले पनि यो धेरै फराकिलो र गहिरो छ,” चिकित्सा इतिहासका प्राध्यापक होवार्ड मर्केलले भने । 

मिचिगन विश्वविद्यालयमा कार्यरत मर्केलले यही कोरोना महामारीकै क्रममा ८४ वर्षीया आफ्नी आमालाई गुमाएका थिए । “निधन भएकाहरुको सङ्ख्यामा कोही हाम्रा दाइ छन्, कोही भाइ छन्, कोही हाम्रा दिदिबहिनी छन्, कोही बुवाआमा छन्, त्यसैले यसले धेरैलाई प्रभावित पारेको छ । हामीमा मानवीयता छैन भने मात्रै यो सङ्ख्याले कुनै असर पार्दैन, नत्र यसले विक्षिप्त पार्दछ,” उनले भने । 

जोन हकिङ्स विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको मृतकहरुको सङ्ख्या जेरुसेलम वा अस्टिनको भन्दा धेरै भएको पनि उनले बताए । त्यसैगरी सन् २००४ मा हिन्द महासागर क्षेत्रमा आएको भूकम्प र आँधीले गरेको क्षतिभन्दा धेरै मानवीय क्षति भएको पनि उल्लेख गरिएको छ । 

औसतमा दैनिक पाँच हजार मानिसको कोरोनाभाइरसका कारण मृत्यु भइरहेको विवरणहरु सार्वजनिक भइरहेका छन् । बेलायत र युरोपेली मुलुकहरुमा महामारीको दोस्रो चरण चलिरहेको छ । संसारका अधिकांश देशहरुमा अहिले पनि दैनिक रुपमा हजारौँ मानिसको मृत्यु भइरहेको छ ।

पछिल्लो विवरणअनुसार कोरोनाका कारण विश्वभर कुल मृतकको सङ्ख्या दश लाख आठ हजार पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोड ३६ लाख १७ हजार पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । 

कुल सङ्क्रमितमध्ये दुई करोड ४९ लाख २४ हजार १८६ जना सङ्क्रमणमुक्त भएका छन् भने ७६ लाख ६९ हजार ३०२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । 

कुल सङ्क्रमितमध्ये ६५ हजार ३२५ जना मात्रै गम्भीर अवस्थामा छन् भने अरु ७६ लाख तीन हजार ९७७ जनाको अवस्था सामान्य रहेको छ । 

सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने त्यसपछि भारत, ब्राजिल, रुस कोलम्बीया, पेरु, स्पेन, मेक्सिको, अर्जेन्टिना र दक्षिण अफ्रिका क्रमशः अग्र दश मुलुकमा रहेका छन् ।