मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समयमा उपचार गरे क्यान्सर निको हुन्छ : विज्ञहरु

समयमा उपचार गरे क्यान्सर निको हुन्छ : विज्ञहरु


चितवन । क्यान्सर रोगसम्बन्धी विज्ञहरुले समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने बताएका छन्  । खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिने उनीहरुको भनाइ छ । खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिने उनीहरुको सुझाव छ । 

विश्वमा बर्सेनि एक करोड ४० लाख मानिसमा क्यान्सर देखिने गरेको तथ्यांक छ । विश्वमा एक वर्षमा ७६ लाखभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारण हुने जनाइएको छ । नेपालमा हरेक वर्ष एक लाखभन्दा बढी क्यान्सर हुने गरेको अनुमान गरिएको छ । ८०.९ प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बाशयको क्यान्सरका बिरामी धेरै हुने गरेका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम कतिपय क्यान्सरका रोगहरु आफैँ परीक्षण गर्न सकिने बताउँछन् । उनले भने, “आफैँले छामेर वा लक्षणहरु हेरेर क्यान्सर हो÷होइन पत्ता लगाउन सकिन्छ ।” शरीरमा गिर्खा, गाँठागुठी देखिनु, कोठी, मुसाको रङ बदलिनु वा आकार बढ्दै जानु, लामो समयसम्म खोकी निको नहुनु, खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु क्यान्सरका लक्षण हुन् । यस्तै खकारमा रगत देखापर्नु वा लामो समयसम्म खोकी निको नहुनु, लामो समयसम्म दिसामा गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु पनि क्यान्सरको लक्षण हुन् ।

महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाको पुनः रक्तश्राव हुनु वा महिनावारीको समयपछि रक्तश्राव हुनु, स्तनमा गाँठागुठी देखिनु, मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु क्यान्सरका लक्षणहरु भएको जनाइएको छ । 

यसैगरी छोटो समयमै शरीरको वजन घट्नु, रक्तअल्पता देखिनु, ज्वरो आइरहनु, नाक, मुख, शरीरका अन्य छिद्रहरुबाट रगत आउनु पनि क्यान्सरका लक्षण भएको निर्देश डा गौतमले जानकारी दिए । यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल आउन पनि उनले सुझाव दिए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेले मानिसले व्यक्तिगत सरसफाइ र खानपानमा विशेष ध्यान दिन सकेमा क्यान्सर रोगबाट बच्न सकिने बताए । उनका अनुसार चुरोट, बिडी, खैनी, सूर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन नगर्ने, बासी, सडेगलेको र ढुसी परेको खानाहरु नखाने, पोलेर डढेको मासु र अन्य खानेकुरा नखाने गर्दा पनि क्यान्सरबाट बच्न सकिन्छ ।

यसैगरी अखाद्य रङ प्रयोग गरिएका खानेकुराहरु नखान, चिल्लो बोसोयुक्त खानेकुरा र धेरै नुन नखान, आफ्नो गुप्ताङ्ग सधैँ सफा राख्न, मौसमअनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खान उनले सुझाव दिए । महिलाले आफ्नो गर्भाशय श्राव परीक्षण प्रत्येक वर्ष गर्ने हो भने पनि क्यान्सरबाट बच्न सकिने उनको सुझाव छ ।

यस्तै महिलाहरुले स्तनमा गिर्खा, गाँठागुठी पलाएको छ÷छैन प्रत्येक महिना आफैँले राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीको परामर्श लिने गर्न सके स्तन क्यान्सरबाट बच्न सकिने डा लामिछाने बताउँछन् । 

अस्पतालका पूर्वकार्यकारी निर्देशक डा विजयचन्द्र न्यौपाने रोगका विषयमा जनचेतना जगाउन नसकिएको स्वीकार गर्छन् । उनले भने, “सबैभन्दा पहिले क्यान्सरबारे सचेतना फैलाउनुप¥यो । जसले रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।” मानिसले समयमै थाहा पाएमा उपचारबाट निको हुन सक्ने भएकाले आम नागरिकसम्म यस रोगका बारेमा जनचेतना जगाउनुपर्ने उनको भनाइ छ । छिटो उपचार गर्न सकेमा निको हुने र खर्च कम लाग्ने उनको भनाइ छ । 

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा क्यान्सर समयमा नै पत्ता लगाएर उपचार गर्ने हो भने क्यान्सर पूर्णरूपमा निको हुने बताउँछन् । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उनको भनाइ छ ।

करिब एकतिहाइ क्यान्सर स्वच्छ खानपिन र आहार बिहारबाट रोक्न सकिने बताउँदै उनले भने, “एकतिहाइ क्यान्सरको सुरुकै अवस्थामा उपचार गरेर निको पार्न सकिन्छ । बाँकी एकतिहाइ क्यान्सर रोग निको नहुने खालका हुन्छन् । त्यसलाई पनि विभिन्न खालका उपचारबाट बाँच्ने बेलासम्मका लागि जीवनोपयोगी बनाउन र मानवीय जीवन जिउन सक्ने बनाउन सकिन्छ ।” 

पछिल्लो अध्ययनअनुसार मानिसमा हुने क्यान्सर एक सयभन्दा बढी प्रकारका छन् । तर त्यसमध्ये केही क्यान्सर भने अत्यधिक मात्रामा मानिसमा हुने गरेको पाइन्छ । यो रोग मानव शरीरको कुनै पनि अङ्गमा हुन सक्दछ । 

भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आज २० वर्ष पूरा गरी २१ वर्ष प्रवेश गरेको छ । चीनको सहयोगमा स्थापित यो अस्पतालमा हाल ४५० श्यया रहेका छन् । अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरी अस्पतालको वार्षिकोत्सव तथा सतर्कता दिवस मनाउँदैछ ।

कोरोना सङ्क्रमणका कारण जुम प्रविधिमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा कार्यक्रम गरिँदैछ । यस अस्पतालको स्थापना दिवसलाई नै सरकारले क्यान्सर सतर्कता दिवसका रुपमा मनाउँदै आएको छ । अस्पतालमा गत आर्थिक वर्षमा चार हजार ८९४ नयाँ क्यान्सरका रोगीको उपचार गरिएको छ । अस्पतालको तथ्याङ्कअनुसार गत आवमा एक लाख ४५ हजार ७७६ जनाको बहिरङ्ग सेवामा उपचार गरिएको छ । जसमध्ये ३२ हजार ८३१ नयाँ हुन् । अस्पतालले तीन हजार ९३९ जनाको शल्यक्रिया गरेको जनाएको छ । 

अस्पतालले एक वर्षमा रक्तक्यान्सरका बिरामीलाई म्याक्स फाउण्डेशनबाट प्राप्त रु २० करोड १९ लाखको औषधि निःशुल्क वितरण गरेको छ । यसैगरी विपन्नलाई १६ करोड र क्यान्सर सेवामार्फत रु ५२ लाखको औषधि वितरण गरिएको छ । ७० वर्षमाथिकालाई निःशुल्क सेवावापत रु १६ लाख ९६ हजार ३३५ र १५ वर्ष मुनिकालाई रु एक करोड ६७ लाख ४१ हजार ४९७ बराबरको उपचार निःशुल्क गरिएको छ ।