विचार / ब्लग

जनसम्पर्कको शाख गिराउने काम किन हुँदैछ ?

प्रकाशित |

सक्षम नेतृत्वका संबन्धमा एउटा भनाइ छ–नेतृत्वले आफूभन्दा पछिका लागि समेत सक्षम नेतृत्व पैदा गर्न सक्नुपर्छ । आफूमात्र सक्षम देखिन खोज्ने व्यक्ति असल नेता हुँदैनन् ।

प्रसंग नेतृत्वको हो र त्यो नेतृत्व अमेरिकामा स्थापना भएको नेपाली जनसम्पर्क समितिको हो । सक्षम र इमान्दार नेतृत्व भएन भने के हुन्छ भन्ने बुझ्नका लागि जनसम्पर्क समिति अमेरिका राजनीतिशास्त्र, व्यबस्थापनका विद्यार्थीका निम्तिमात्र होइन रूची राख्ने हरकोहीका लागि ‘केसस्टडी‘ हुनसक्छ ।

सक्षम नेतृत्व नहुनुकै परिणाम यतिखेर अमेरिकाका शहरैपिच्छे ‘जनसम्पर्कको अध्यक्ष म हुँ, नेता म हुँ‘ भन्नेहरू उम्रिएका छन् । आफूभन्दा पछिका लागि नेतृत्व विकास हुने अवसरै नदिने, संस्थागत पारदर्शितालाइ मकै पोले जसरी खाने, सबैलाइ सहयात्रीका हिसाबले भन्दा भाग खोस्न आएको व्यबहार गर्दाको परिणाम यतिखेर जनसम्पर्क समितिको छवी प्रजातान्त्रिक पार्टीको शुभेच्छुक संस्थाको रूपमा भन्दा बाहिरबाट अराजकहरूको भीड हुन्, हिनामिना गर्ने र पदलोलुपहरूको झुण्ड हो भन्ने छाप परेको छ ।

२०१४ मा टेक्ससको डालसमा भएको अधिवेशनले संस्थालाइ गति, जीवन्तता र उर्जा थपेको थियो । विधान अनुसार चल्ने हो भने दुइवर्षमा कार्यकाल समाप्त भैसकेका पदाधिकारीहरूको म्याद असहज अवस्था भन्दै एक वर्ष बढाउन सबैको एकमतै थियो । कसैले विरोध गरेका होइनन् ।

डालस अधिवेशन सकिएको ६ वर्ष हुन लाग्यो । विधान अनुसार चलिएको थियो भने अहिलेको कार्यसमितिभन्दा पछि २०१६ र २०१८ मा अधिवेशन भएर अर्को अधिवेशनको चहलपहल सुरू भैसकेको हुनेथियो यतिखेर । उहिल्यै आयु सकिएका पदाधिकारीलाइ नेता र बैधानिकता सकिएको कार्यसमितिलाइ नेतृत्व मानेर हाम्रो यात्रा कहाँ पुग्ने हो कुनै ठेगान छैन ।  

चुनाव हारेका, हराइएका र नेतृत्वमा रहेका भन्दा बाहेक हजारौ सदस्यहरु र शुभेच्छुकहरु बाहिर छन । बर्तमान नेतृत्वले तिनीहरुको सहभागिता र सहयात्रालाई रत्तिभर महत्व दिएन । चुनावमा जित्नेमात्र योग्य र विशिष्ट हुन्, बाँकी सबै हैसियत बिनाका हुन् भन्ने खालको व्यबहार पटक पटक प्रदर्शन भए । जिम्मेवारी बाँडफाँड गर्दा कामकाज सजिलो हुन्छ भन्ने राजनीतिशास्त्रको तर्क र सिद्धान्त विपरित शक्ति जति अाफू अनि निकटमा थुपारेर गुटको मात्र नेता हुने प्रयास कार्यसमितिका अधिकांशमा देखियो । जसका कारण यो नेतृत्व असफल हुन पुग्यो । न काम गर्न सक्यो न समयमा अधिवेशन गर्न सक्यो न समर्थकहरु बिच लोकप्रिय हुन नै सक्यो ।

मैले डालस अधिवेशनमा व्यक्तिगत रूपमा आफुलाई मत नमागेर टीमका लागि मागेँ । म लगायत केही साथीहरू टीम भनेर हिँडेका थियैाँ । तर अहिले नेतृत्वमा आउनुभएका साथीहरू आफूलाइमात्र मत मागेर हिँड्नुभएको तथ्य त्यतिखेरै नखुलेको होइन । हामी आनन्द विष्टको नेतृत्वको प्यानललाइ जसरी पनि नेतृत्वमा स्थापित गराउनु पर्छ भनेर मरिमेटेको कुरा टीमका सबै साथीभाईहरुलाई अवगत छ । टीमका सबैले म लगायत वेद खरेल, सुभाष घिमिरेले जसरी सामुहिक मत मागेको थियैाँ, सबैबाट इमान्दारिता देखाइएको भए हामी पराजित हुने थिएनैाँ । म कस्को कारण हारे भन्दा पनि सबैले बराबर मत किन आएन भन्ने सोच्दैछु ।

संस्थाको बैधानिकत र आर्थिक अनुशासन मा यो संस्था दुनियामै सबैभन्दा आलोचित भयो किन ? कस्को कारण ? आर्थिक अनियमितताको आरोप लागेर, प्रमाणित भएर कारबाहिमा परेका मानिसहरु कुन नैतिकताले यसै संस्थामा बसिरहन मिल्छ ?

अर्कातिर नेतृत्व गलत भयो भन्दैमा घरघर–शहर शहर, राज्यराज्यबाट अर्को समिति र अर्को पदाधिकारीको स्वघोषणा हुनु अर्को अतिवाद हो । यसले नत संस्थालाइ बल पुर्याउँछ, नत विधि र विधानलाइ नै । यस्ता गतिविधिले केही दिन त सन्तोष देला, तर संस्थाका लागि यो घातक कार्य हो । नेतृत्वको कमजोरी सच्याउन नेता फेर्ने हो, संस्थानै अर्को गठन गर्ने होइन ।

अमेरिकी कानून अनुसारको संस्था नबन्दासम्म सानेपाको चिठ्टठीले गठन र बिघटन हुने प्रचलन रोकिनेवाला पनि छैन । हामीले पार्टीसँगको संबन्धको निर्रन्तरता मात्रै मागेका हौ, सकृय सहभागिता र निर्बाचनमा भाग लिन खोजेका होईन । बिदेशबाट नेपालको प्रजातन्त्र र मानवाधिकारका लागि सहयोग गर्न, देश र पार्टीको संबन्धलाई निरन्तरता दिन बिपी कोईरालाले जनसम्पर्क समितिको आवश्यकता देख्नुभयो । आज त्यस्को औचित्य झन थपिएको छ । आर्थिक लगानी र बिदेशमा सिकेको सिप र प्रबिधी स्वदेश पठाउने दायीत्व समेत थपिएको छ । के हामी यी सबै गर्न संक्षम छौ त ?

यी सबै कामका लागि सक्षम नेतृत्व, इमान्दार छवी, उदार चरित्र भएको व्यक्ति चाहिन्छ । नेतृत्व भन्नेले पनि सबैका विचार, धारणा सुन्ने धैर्यता गर्नुपर्छ । अालोचना, विरोध पचाउने क्षमता विकास गर्नुपर्छ । जंगबहादुर शैलीको नेतृत्वले यो शताव्दीका संघसंस्थाहरू चल्न सक्दैनन् ।

नेतृत्व हातमा परेपछि संस्था छाड्नै नचाहने, अरूलाइ अघि बढाउनै नचाहने प्रवृत्ती विरूद्ध सबैले दवाव दिन र आवाज उठाउन छाड्नु हुन्न । स्वयमसेवी संस्थामा लामो समयसम्म पद ओगटेर बस्ने, कसैका कुरै नसुन्ने प्रवृत्ति जब हावी हुँदै जान्छ, तव दालमा काला हे भनेझैँ शंका गर्न वाध्य हुनुपर्छ ।

शहरै पिच्छे जनसम्पर्क समिति र घरैपिच्छे नेता घोषणा हुने परिपाटीलाइ अन्त्य गर्न नेपाली कांग्रेसले पनि समन्वय गर्न अावश्यक छ । होइन भने यो संस्था प्रवासमा रहेका हामीजस्ता कांग्रेसका कार्यकर्ता, शुभेच्छुकलाइ जुटाउने, संगठित गर्ने संस्थाभन्दा लडाउने, भीडाउने संस्थाका रूपमा परिचित हुँदैजाने र लाखापाखा हुने अवस्था नआउला भन्न सकिन्न ।

(लेखकः जनसम्पर्क समिति अमेरिकाको स्थापनाकालदेखि निरन्तर सकृय छन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया